बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

आनन्द माविमा ११ विद्यार्थी कुटपिटको घटना सामसुम पार्ने प्रयास, मनोवैज्ञानिक दवाबका कारण घाइते विद्यार्थीले जाहेरी नै दिएनन्

आनन्द माविमा ११ विद्यार्थी कुटपिटको घटना सामसुम पार्ने प्रयास, मनोवैज्ञानिक दवाबका कारण घाइते विद्यार्थीले जाहेरी नै दिएनन्

मेगा खबर संवाददाता

६, चैत्र २०७८
  • 2.6K
    SHARES

  • आनन्द माविमा ११ विद्यार्थी कुटपिटको घटना सामसुम पार्ने प्रयास, मनोवैज्ञानिक दवाबका कारण घाइते विद्यार्थीले जाहेरी नै दिएनन्

     
    चैत्र ६ , सिन्धुपाल्चोक 
    बलेफी गाउँपालिका वडा नं १ मा रहेको सिन्धुपाल्चोक जिल्लाकै चौथो पुरानो विद्यालय श्री आनन्द माध्यमिक विद्यालयमा अध्ययनरत ११ विद्यार्थीमाथि शिक्षकद्वारा निर्घात कुटपिटको घटना विद्यार्थीलाई मनोबैज्ञानिक त्रास देखाएर सामसुम पार्न खोजिएको छ । 

    यहि चैत्र २ गते भएको कुटपिटको घटनामा संलग्न शिक्षक दिपक तामाङलाई जिल्ला प्रहरी कार्यालय चौतारामा विद्यार्थीसामु माफि माग्न लगाएर घटना गुपचुप मिलान गर्न खोजिएको हो । प्रधानाध्यापक शिवबहादुर क्षेत्रीको सक्रियतामा घटनालाई थप अघि नबढाउन पीडित विद्यार्थीलाई मनोबैज्ञानिक दवाब सृजना गरिएको पीडित विद्यार्थीहरुको भनाई छ । उनीहरुलाई आगामी दिनमा अध्ययन प्रक्रिमा समेत असर पर्नसक्ने भन्दै प्रहरीसामु जाहेरी नदिन र मिलेर जान दबाब सृजना गरिएको एक घाइते विद्यार्थीले जानकारी दिए । ‘हेडसरले मिलेर जाओ, मिलेरै जाँदा राम्रो हुन्छ भन्नुभयो त्यही भएर जाहेरी दिएनौं’ उनले मेगा खबरसँग भने । विद्यालय प्रशासनले अनुशासनसँग जोडेर मनोबैज्ञानिक दवाब दिएको भन्दै पीडित विद्यार्थीले नाम नराखिदिन अनुरोध गरेका छन् । 

    जिल्ला प्रहरी प्रमुख एसपि राजन अधिकारीले पीडितका तर्फबाट इलाका प्रहरी कार्यालय जलविरेमा उजुरी परेपछि उनीहरुसँग जिल्ला प्रहरी कार्यालय चौतारामा जानकारी लिने काम भएको बताए । उनले घटनाका सम्बन्धमा पीडित पक्षबाट जाहेरी नआएको जानकारी दिए । हदम्याद बाँकि रहेको भन्दै एसपि अधिकारीले पीडितका तर्फबाट जाहेरी आएमा घटनाबारे थप अनुसन्धान हुने बताए ।     

    घटना विवरण अनुसार यही चैत्र २ गते बुधबार आनन्द मावि जलविरेमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीले विद्यालय छुट्ने बेलामा साथीहरुबीच एक अर्कालाई टीका रङ्ग लगाइदिएर होली खेलिरहेका बेला निमित्त प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका शिक्षक दिपक तामाङले एकाएक खानेपानी सप्लाइ गर्ने  प्लास्टिक पाइपले जथाभावी पिट्दा ११ जना विद्यार्थी सख्त घाइते भएका थिए । जसमध्ये तीन जनाको नजिकको स्वास्थ्य केन्द्रमा उपचार गरिएको थियो । शिक्षक तामाङले निर्घात कुटपिट गरेपछि विद्याथीबीच रुवाबासी चलेको थियो । उनीहरु शरिरभरी निलडाम कुटपिटबाट सुन्निएका हात देखाउँदै जलविरेस्थित इलाका प्रहरी कार्यालयमा उजुरी गर्न गएका थिए । इलाका प्रहरी कार्यालयमा पीडितको उजुरी उपर आवश्यक कारबाही हुन नसकेपछि यो विषय जिल्ला प्रहरी कार्यालय चौतारा पुर्याएर मिलाइएको हो । पीडित विद्यार्थीका अभिभावकले जाहेरी दिने बताएका थिए । 


    पीडित विद्र्यार्थीले विद्यालय प्रशासनमा पनि यसबारे ध्यानाकर्षण गराएका थिए । तर सो दिन प्रधानाध्यापक क्षेत्री विद्यालयमा नभएका कारण थप छलफल हुन नपाएको पीडित विद्यार्थीहरुले जानकारी दिए । प्रधानाध्यापक क्षेत्रीले पनि आफु विद्यालयमा नभएका बेला घटना भएकोले पीडित विद्यार्थी र सबन्धित शिक्षकसँग विस्तृत छलफल गरेर निचोडमा पुग्ने बताएका थिए । तर उनकै अगुवाइमा शुक्रबार पीडक शिक्षक तामाङ र उनको कुटाइबाट बढी चोट व्यहोरेका तीन जना विद्यार्थी सहित जिल्ला प्रहरी कार्यालय पुगेका थिए । प्रहरीको समेत उपस्थितिमा भएको छलफलमा पीडक शिक्षकले माफी माग्ने र पीडित विद्यार्थीले जाहेरी नदिने समझदारी बनेको थियो । घटना मिलाउन शिक्षक तामाङको अर्कै विद्यालयमा सरुवा गर्ने समेत सहमती भएको भनिएपनि यसबारे प्रहरी र विद्यालय प्रशासनले पुष्टि गर्न इन्कार गरेको छ । जिल्ला प्रहरी कार्यालय चौताराले भने सो घटनाका सम्बन्धमा छलफल नभएको तर पीडित भनिएका विद्यार्थीसँग जानकारी लिने काम मात्र भएको बताएको छ । 

    प्रहरी कार्यालय चौतारामा के भएको थियो भन्ने मेगाखबरको जिज्ञासामा प्रधानाध्यापक क्षेत्रीले सो घटनाका सम्बन्धमा सहमती भइसकेको भन्दै यसलाई गिजोल्न खोजिएको र राजनीति गर्न खोजिएको बताए । तर कसले कसरी यस विषयमा राजनीति गर्न खोजेको भनेर आफुले खुलाउन नचाहेको उनको भनाई छ । निर्घात कुटपीटको घटनालाई ‘विद्यालयमा अनुशासन कायम गर्न शिक्षकले चालेको कदम’ को संज्ञा दिंदै क्षेत्रीले प्लाष्टिकको पाइपले पिटेको भन्ने विषयलाई धेरै बहसको विषय बनाउनु आवश्यक नरहेको टिप्पणी गरे । विद्यार्थीलाई घाइते हुनेगरि कुटपिट गर्ने शिक्षक तामाङको छवि विवादित रहेको भन्दै यस अघि विद्यालयमा ल्याउने विषयमा विरोध भएको थियो ।

    आनन्द माविमा कार्यरत एक शिक्षकका अनुसार अहिले पनि विद्यालयमा कतिपय शिक्षकले प्लाष्टिकको पाइप र काठका लामा लामा लट्ठि ल्याएर राख्ने गरेका छन् । कक्षामा जाँदा लट्ठि हल्लाउँदै जाने गर्छन् । तर एकै पटक ठूलो संख्याका विद्यार्थी घाइते हुनेगरि कुटपिट भएको भने थिएन । ती शिक्षकका अनुसार विद्यालयमा कार्यरत शिक्षकले लट्ठि हल्लाउँदै कक्षामा जाने गरेको विषयमा प्रधानाध्यापकको चासो राख्ने गरेका छैनन् ।  

    शिक्षकको पिटाइबाट दिपिका श्रेष्ठ, सीमा श्रेष्ठ, सप्रीना भुजेल, सम्झना श्रेष्ठ, राजकुमार सुनुवार, विजय बहादुर भण्डारी, दिलिप श्रेष्ठ, नोर्माई स्याङ्बो लगायत घाइते भएका हुन् । एक घाइते विद्यार्थीका अभिभावकले मेगा खबरलाई घटनाका विषयमा जाहेरी दिने समय बाँकि नै भएकोले पीडक शिक्षक विरुद्ध प्रहरीमा जाहेरी दिइने र विद्यार्थीलाई पशुलाई जसरी निर्घात कुटपिट गर्ने शिक्षकलाई त्यतिकै नछोडिने जानकारी दिए ।

    https://megakhabar.com/news/18284 यो पनि 

    आइतवार, चैत्र ६ २०७८०७:५९:०२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार