काठमाडौं,तिहारमा घरदेखि बजारसम्म कृत्रिम फूलले सजाउने तयारीमा हुनुहुन्छ ? अब काठमाडौं महानगरभित्र प्लास्टिकका फूल र माला बेच्न तथा सजावटमा प्रयोग गर्न पाइने छैन । महानगरपालिकाले प्लास्टिकजन्य फूलको बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाउँदै स्वदेशी फूलको कारोबारलाई प्रोत्साहन गर्न ३३ वटा बिक्री स्थलसमेत तोकेको छ ।
महानगरको वातावरण व्यवस्थापन विभागले सूचना जारी गर्दै प्लास्टिकजन्य फूलगुच्छा तथा मालाको आयात, बिक्री वितरण र भण्डारणमा रोक लगाएको जनाएको छ । सरकारले वातावरण संरक्षण ऐन, २०७६ अनुसार नै नेपालभर प्लास्टिकजन्य माला तथा पुष्पगुच्छामा प्रतिबन्ध लगाइसकेको छ ।
महानगरले प्रतिबन्धको अवज्ञा गरी प्लास्टिकका फूल बिक्री गरेको, भण्डारण गरेको वा सजावटमा प्रयोग गरेको पाइएमा त्यस्ता सामग्री जफत गर्नुका साथै कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।
उता, नेपाली किसानले उत्पादन गरेका फूललाई बजारसम्म पुर्याउन महानगरले ३३ स्थानमा बिक्रीको व्यवस्था मिलाएको छ। लगनटोल, जैसीदेवल, भृकुटीमण्डप, स्वयम्भू, कालीमाटी, कलङ्की, नयाँ बजार, माछापोखरी, हाँडीगाउँ, महाराजगन्ज, गोङ्गबु, बालुवाटारलगायत स्थानमा किसानले फूल बिक्री गर्न पाउनेछन्। तीनकुने र सिफल चौरमा पनि बिक्री केन्द्र राखिएको छ।
महानगरले २०८० सालदेखि तिहारमा स्वदेशी फूल बिक्रीका लागि निश्चित स्थान उपलब्ध गराउँदै आएको छ। विदेशी फूलको तुलनामा नेपाली उत्पादनलाई प्राथमिकता दिँदै किसानलाई सिधै उपभोक्तासम्म पुग्ने वातावरण बनाउने महानगरको उद्देश्य छ।
तिहारमा फूलको माग उच्च हुने भए पनि नेपाली बजारमा भारतसहित नेदरल्यान्ड्स, चीन, जापान, केन्या, थाइल्यान्डलगायत विभिन्न देशबाट फूल तथा पुष्पजन्य सामग्री आयात हुँदै आएको छ ।
महानगर प्रहरी बलले बिक्री स्थलको व्यवस्थापन र किसानलाई सहजीकरण गर्ने जनाएको छ। बिक्री केन्द्रसम्बन्धी थप जानकारी तथा सहयोगका लागि महानगर प्रहरी बलको ०१–५९०१७६३, ०१–५९०१७६४ र मोबाइल नम्बर ९८५१३५६५०९ मा सम्पर्क गर्न सकिने महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिएका छन्।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।