काठमाडौँ, बङ्गालको खाडीमा विकसित अर्नब चक्रवात थप शक्तिशाली बन्दै गएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन दिन उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
प्राधिकरणले सोमबार सूचना जारी गर्दै कात्तिक १२, १३ र १४ गते सम्भावित विपद्बाट जोगिन आवश्यक सावधानी अपनाउन अनुरोध गरेको हो ।
चक्रवातको प्रभावले कोशी, बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने प्राधिकरणले जनाएको छ ।
त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि चट्याङ, हावाहुरी र मध्यम वर्षाको सम्भावना छ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेको प्राधिकरणले जनाएको छ ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न, नदी तथा खोलानालाको बहाव बढ्न सक्ने क्षेत्रमा सतर्क रहन र विपद्को जोखिम भएका स्थानमा विशेष सावधानी अपनाउन आवश्यक देखिएको छ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।