मंगलवार, कार्तिक १८ २०८३Nov 03 2026

  • TRENDING NOW :

काठमाडौं–धादिङ यात्रा छोटियो, नागढुंगा सुरुङमार्गमा शुल्कको नयाँ व्यवस्था

काठमाडौं–धादिङ यात्रा छोटियो, नागढुंगा सुरुङमार्गमा शुल्कको नयाँ व्यवस्था

मेगा खबर संवाददाता

१७, कार्तिक २०८३
  • 391
    SHARES

  • काठमाडौं–धादिङ यात्रा छोटियो, नागढुंगा सुरुङमार्गमा शुल्कको नयाँ व्यवस्था

    काठमाडौं,नागढुंगाको घुम्ती र घण्टौँको जाम छल्दै सात मिनेटमै काठमाडौं–धादिङ यात्रा गर्न पाइने सुरुङमार्ग प्रयोग अब निःशुल्क हुने छैन । नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा आज (कात्तिक १५) देखि सवारीसाधनसँग सडक दस्तुर लिन थालिएको छ ।

    आइतबार राति १२ बजेदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार सुरुङमार्ग हुँदै काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनले छुट्टाछुट्टै दरमा शुल्क बुझाउनुपर्नेछ।

    निर्धारित दरअनुसार कार,जिप,भ्यान तथा माइक्रोबसले काठमाडौं भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। त्यस्तै, ठूला सवारीसाधनले सुरुङमार्ग प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।

    आयोजना प्रमुख इन्जिनियर सौजन्य नेपालका अनुसार सुरुवाती चरणमा नगद तथा क्यूआरमार्फत शुल्क भुक्तानी गर्न सकिनेछ । आगामी दिनमा आरएफआईडी कार्ड तथा ट्याग प्रणाली लागू गरी सवारीसाधनबाट स्वचालित रूपमा दस्तुर संकलन गर्ने तयारी छ ।

    काठमाडौंको बलम्बुदेखि धादिङको सिस्नेखोलासम्म जोड्ने २ हजार ६८८ मिटर लामो यो सुरुङमार्ग नेपालकै पहिलो आधुनिक सडक यातायात सुरुङमार्ग हो । करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण भएको यस आयोजनाले नागढुंगाको घुम्ती र जामका कारण ३० देखि ४५ मिनेट लाग्ने यात्रालाई सात मिनेटमा झारेको छ ।

    सुरुङमार्गमा मुख्य सुरुङसँगै २ हजार ५५७ मिटर लामो आपत्कालीन उद्धार सुरुङ पनि निर्माण गरिएको छ । सुरक्षाका लागि मोटरसाइकल, पैदलयात्री तथा प्रज्वलनशील पदार्थ बोकेका सवारीसाधनलाई प्रवेश निषेध गरिएको छ ।

    सुरुङमार्गबाट संकलित रकम सडक बोर्ड नेपालको खातामा जम्मा हुनेछ । दस्तुर संकलनको सञ्चालन तथा अनुगमन सडक बोर्ड नेपाल र सडक विभागले गर्नेछन् ।

    सोमवार, कार्तिक १७ २०८३११:४२:३१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार