काठमाडौं, बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ कमजोर बने पनि त्यसको प्रभावले नेपालमा मौसम बिग्रिने भएको छ। आज (बिहीबार) दिउँसोदेखि वर्षा सुरु हुने र शुक्रबार देशका धेरैजसो स्थानमा भारी वर्षा हुन सक्ने मौसमविद्ले चेतावनी दिएका छन्।
मौसमविद् विनोद पोखरेलका अनुसार चक्रवात ‘अर्नब’ कमजोर भएर न्यूनचापीय प्रणालीमा परिणत भइसकेको छ। यसको प्रभावस्वरूप नेपालमा बादल प्रवेश गरिसकेको भए पनि वर्षा भने सुरु भइसकेको छैन।
विशेषगरी आज रातिदेखि शनिबार बिहानसम्मको समय बढी जोखिमपूर्ण हुन सक्ने पोखरेलले बताएका छन्। उनका अनुसार शुक्रबार देशका धेरैजसो स्थानमा भारी वर्षाको सम्भावना छ।
हिजोको तुलनामा जोखिममा रहेका जिल्लाको सङ्ख्या कम देखिए पनि मौसम प्रणालीले ठूलो क्षेत्र ओगटेको छ। माथिल्लो वायुमण्डलमा रहेको न्यूनचापीय रेखासँग यसको अन्तरक्रिया भइरहेकाले विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना कायमै रहेको पोखरेलको भनाइ छ।
वर्षाको समय र मात्रा फेरिन सक्छ
मौसम प्रणालीको प्रभावका कारण कुन स्थानमा कति बेला र कति वर्षा हुन्छ भन्नेमा फेरबदल हुन सक्ने मौसमविद्ले बताएका छन्। त्यसैले अहिलेको पूर्वानुमानलाई सामान्य रूपमा लिएर बेवास्ता नगर्न र मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न आग्रह गरिएको छ।
सम्भावित वर्षालाई ध्यानमा राख्दै सर्वसाधारणले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ। विशेषगरी आज रातिदेखि शनिबार बिहानसम्म मौसमको अवस्था बुझेर मात्र यात्रा तथा अन्य गतिविधिको योजना बनाउन उपयुक्त हुनेछ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।