काठमाडौँ, बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को अवशेष र पश्चिमी वायुको प्रभावले देशभर बदली र वर्षा भइरहेको छ । यद्यपि, आज अपराह्नदेखि मौसममा क्रमिक सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशका अधिकांश स्थानमा बादल लागेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ भने कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो पनि छ प्रदेशमा अधिकांश बदली रहनेछ । कोशी, मधेस र बागमतीका धेरै स्थान तथा गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका केही स्थानमा वर्षासँगै हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।
कोशी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपातको समेत सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने केही स्थानमा हल्का वर्षा हुन सक्नेछ ।
आज राति देशभर सामान्यतया बादल लाग्नेछ । हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा र हिमपात तथा कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
आइतबारदेखि भने मौसम थप खुल्दै जाने देखिएको छ । देशभर आंशिक बदली रहने र हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मात्र हल्का वर्षा तथा हिमपात हुने महाशाखाले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।