विश्वकै सर्वोच्च शिखर सगरमाथासहित नेपालका छवटा हिमाल सफा गर्न गएको टोली आधार शिविर व्यवस्थापनमा जुटेको छ ।
चैत ३१ गते प्रधानसेनापति पूर्णचन्द्र थापाले हिमाल सफाइमा जाने टोलीलाई राष्ट्रिय झण्डा र ब्यानर हस्तान्तरण गरेपछि चारवटा टिममा विभाजित भएर टोली गन्तव्यतर्फ लागेको थियो । टोलीका सदस्यहरू बेस क्याम्प नजिकै पुगेर व्यवस्थापनका लागि आवश्यक तयारी गरिरहेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।
उनका अनुसार सर्वोच्च शिखर सगरमाथा, पुमोरी हिमाल, ल्होत्से हिमालको फोहोर सफा गर्ने टोलीका सदस्य वैशाख ६ गते सोमबार पासाङल्ह्यामु गाउँपालिकाको डिङ्बोचे भन्ने स्थानमा पुगेको हो ।
आ - आफ्ना बेस क्याम्पका लागि आवश्यक सरसामग्रीको व्यवस्थापन र टेन्ट क्याम्प स्थापना गर्न टोलीका सदस्यहरू जुटेका छन् । सफाइ टोलीमा नेपाली सेनाका ४३ जना र स्थानीय शेर्पा समुदायका ६९ जना समावेश छन् । नेपाली सेनाले दिएको जानकारीअनुसार विभिन्न छवटा हिमालबाट यस वर्ष ३५ टन फोहोर सङ्कलन गर्ने लक्ष्य छ ।
सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा मात्र तीन सयभन्दा बढी आरोहीको शव रहेको अनुमान गरिएको छ । साथै त्यस क्षेत्रमा सोसहित १४ हजार टन फोहोर रहेको नेपाली सेनाले जनाएको छ । आजको गाेरखापत्र दैनिकमा समाचार छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।