मंगलवार, कार्तिक १८ २०८३Nov 03 2026

  • TRENDING NOW :

लक्ष्मीपूजामा बत्ती जाने डर छैन, विद्युत् आपूर्ति सहज बनाउन प्राधिकरण तयारी अवस्थामा

लक्ष्मीपूजामा बत्ती जाने डर छैन, विद्युत् आपूर्ति सहज बनाउन प्राधिकरण तयारी अवस्थामा

मेगा खबर संवाददाता

१६, कार्तिक २०८३
  • 274
    SHARES

  • लक्ष्मीपूजामा बत्ती जाने डर छैन, विद्युत् आपूर्ति सहज बनाउन प्राधिकरण तयारी अवस्थामा

    काठमाडौं तिहारमा घर,आँगन र सडक झिलिमिली बनाउने तयारी भइरहँदा लक्ष्मीपूजाका दिन बत्ती जाने हो कि भन्ने चिन्ता पनि हुन सक्छ । तर, यस वर्ष विद्युत् अभावका कारण तिहारको उज्यालो प्रभावित नहुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । बाढीपहिरोले ४३० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिए पनि प्राधिकरणले माग व्यवस्थापनदेखि प्राविधिक तयारीसम्मका काम अघि बढाएको छ ।

    लक्ष्मीपूजाका दिन वर्षभरिमै विद्युत् खपत उच्च हुने गर्छ । घरायसी प्रयोजनमा बत्ती, झिलिमिली र विद्युतीय उपकरणको प्रयोग बढे पनि ठूला उद्योग तथा कलकारखाना बन्द रहने भएकाले माग व्यवस्थापनमा सहज हुने प्राधिकरणको आकलन छ ।

    प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार उद्योगधन्दा बन्द हुँदा बचत हुने विद्युत्ले घरायसी क्षेत्रमा बढेको माग धान्न सहयोग गर्नेछ । सम्भावित प्राविधिक समस्या रोक्न ट्रान्सफर्मर परिवर्तन, तार सुदृढीकरण र सबस्टेसन मर्मतको कामसमेत गरिएको छ । मर्मत तथा नो लाइटका प्राविधिक टोलीलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिएको उनले बताए ।

    गत वर्ष लक्ष्मीपूजाका दिन विद्युत्को उच्चतम माग १ हजार ६५० मेगावाट पुगेको थियो । यस वर्ष भने माग करिब १ हजार ६०० मेगावाट रहने प्राधिकरणको अनुमान छ । काठमाडौं उपत्यकामा मात्रै ३५० देखि ३६० मेगावाटसम्म माग हुने आकलन गरिएको छ ।

    सुक्खायाम सुरु भएसँगै नदीमा पानीको बहाव घट्दा विद्युत् उत्पादनमा केही कमी आएको छ । अहिले कुल जडित क्षमता करिब ४ हजार मेगावाट पुगे पनि वास्तविक उत्पादन ३ हजार १०० देखि ३ हजार २०० मेगावाटको हाराहारीमा छ । यद्यपि आन्तरिक मागभन्दा उत्पादन बढी रहेकाले लक्ष्मीपूजाका दिनसमेत ८०० देखि ९०० मेगावाट विद्युत् बचत हुने प्राधिकरणको भनाइ छ । बचत भएको बिजुली भारत निर्यात गर्न सकिने अवस्था छ ।

    कुनै समय दैनिक १४ घण्टासम्म लोडसेडिङ खेपेको नेपाल अहिले विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको छ । २०७३ सालको लक्ष्मीपूजाबाट काठमाडौं उपत्यकामा परीक्षणका रूपमा लोडसेडिङ अन्त्य गर्ने सुरुवात भएको थियो । त्यसको निरन्तरतासँगै २०७५ वैशाखबाट देशभर लोडसेडिङ अन्त्य गरिएको थियो ।

    बाढीपहिरोले विद्युत् प्रणालीमा क्षति पुर्‍याए पनि पर्याप्त उत्पादन, घट्दो औद्योगिक माग र प्राधिकरणको तयारीका कारण यस वर्षको तिहारमा झिलिमिलीका लागि बिजुलीको अभाव नहुने प्राधिकरणको दाबी छ ।

    आइतवार, कार्तिक १६ २०८३०४:३८:१६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार