काठमाण्डाै, सफा हिमाल अभियान २०२१' आजदेखि शुरु हुँदै ।
नेपाली सेनाले सञ्चालन गर्ने अभियानको आज प्रधान सेनापति पूर्णचन्द्र थापाले ब्यानर हस्तान्तरण गरेर शुभारम्भ गर्ने कार्यक्रम छ ।नेपाली सेनाले यो वर्ष विभिन्न निकायसँगको समन्वयमा सगरमाथा, ल्होत्से, पुमोरी, आमादब्लम, मकालु र धौलागिरि गरेर ६ वटा हिमाल सफाइ गर्दैछन् ।
दुई वर्षअघि सगरमाथाको सफाइ गरेको नेपाली सेनाले यसपटक ६ वटा हिमाल सफाइ गर्न लागेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले बताए ।
६ वटा हिमालको बेस क्याम्प र त्यसभन्दा माथिको क्षेत्रमा सफाइ गरेर ३५ टन फोहर सङ्कलन गर्ने लक्ष्य रहेको सहायक रथी खड्काको भनाइ रहेको छ । सफाइ अभियानमा वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पर्यटन बोर्ड, पासाङ ल्हामु गाउँपालिका,थासाङ गाउँपालिका, मकालु वरुण गाउँपालिका, नेपाल पर्वतारोहण सङ्घ, हिमालयन रेस्क्यु एसोसिएशन, सगरमाथा प्रदूषण नियन्त्रण समितिको सहकार्य रहने नेपाली सेनाले जनाइएको छ ।
आजदेखि शुरु हुने अभियान आउँदो जेठ २२ गते विश्व वातावरण दिवसको अवसरमा समापन हुनेछ । नसड्ने फोहर हेलिकप्टर र गाडीमार्फत काठमाण्डौ ल्याएर फेरि प्रयोग गर्ने संस्थालाई हस्तान्तरण गर्ने पनि सेनाले जनाएको छ ।
अभियानमा नेपाली सेनाका ४३ जना आरोही सदस्य र शेर्पालगायतका अन्य व्यक्तिको पनि सहयोग रहनेछ । हिमाल सफाइका लागि १२ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान रहेको सहायक रथी खड्काले जानकारि दिए । सन् २०१९ मा सगरमाथा सफाइ अभियान शुरु भएको थियो । गएको वर्ष कोरोना महामारीका कारण हिमाल सफाइको काम प्रभावित भए पनि यस वर्ष फेरि निरन्तरता दिन लागिएको सेनाले जनाइएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।