काठमाडौं । लकडाउन खुकुलो भएपछि कामदारको खोजी सुरु भएको छ । सरकारले केही उद्योग र व्यवसायलाई चल्न दिने निर्णय गरेसँगै ती उद्योग व्यवसाय सञ्चालनका लागि उद्योगीहरुले आफ्ना कर्मचारीहरुलाई बोलाउन थालेका हुन् । उद्योगी व्यवसायी मात्रै नभएर बैंक तथा वित्तीय संस्थाहरुले समेत आफ्ना कर्मचारीहरुलाई काममा फर्किन भन्न थालेका छन् ।
सरकारको बिहीबारको निर्णयपछि धेरै भीडाभाड हुने सपिङ मल, सिनेमा हल आदिबाहेक होलसेल तथा खुद्रा पसलहरु, अटो पार्टसका पसलहरु, गाडी तथा मर्मतसम्भार गर्ने पसलहरु खुल्न थालेका छन् । त्यसरी व्यवसायहरु खुलन थालेसँगै कामदारको माग समेत बढ्न थालेपछि उनीहरुले कामदारको खोजी सुरु गरेका हुन् । उद्योगीहरुले पनि लकडानको समयभन्दा अबत तयारी वस्तुको माग बढ्ने आकलन गर्दै क्षमता बढाएर उत्पादन गर्ने तयारी सुरु गरेका छन् ।
नेपाल उद्योग परिसंघका अध्यक्ष सतीशकुमार मोरले अहिले उद्योगहरुले एक तिहाई कामदारबाट काम चलाउन भनिएको भन्दै लकडाउन खुकुलो भएपछि अब उत्पादन क्षमता बढाउँदै जाने बताए । अब तत्काल उपलब्ध हुनसक्ने सबै कामदारलाई काम दिने र गाउँ गएका वा अन्य कारणले तत्काल उपलब्ध हुन नसक्ने कामदारहरुलाई विस्तारै फिर्ता गर्नेगरी तयारी गरिएको मोरले जानकारी दिए ।
‘सरकारले अहिले एक तिहाई कर्मचारीबाट उद्योग सञ्चालन गर्नु भनेको थियो । हामीले त्यहीअनुसार उद्योग चलाइरहेका थियौं । अब लकडाउन खुकुलो भएपछि उत्पादन पनि बढाउनुपर्छ । उत्पादन बढ्ने भएपछि रोजगारीको संख्या पनि बढ्छ,’ मोरले भने । तत्कालै बाहिरका कामदार ल्याउन सहज नभइसकेको भन्दै यसका लागि सरकारले सहजीकरण गरिदिने विश्वास व्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले एक तिहाई कामदारबाट उद्योग चलाउन खुला गरे पनि कामदारको अभावका कारण अहिलेसम्म १५–२० प्रतिशत कामदारले मात्रै काम गरिरहेको बताए । लकडाउन सहज भएको अवस्थामा अब उत्पादन पनि बढाउनुपर्ने भन्दै उनले विस्तारै कामदारको संख्या बढाउँदै लैजानुपर्ने बताए । ‘सरकारले खुला गरेका क्षेत्रको सञ्चालन गर्न र पहिलेदेखि नै आंशिक रुपमा सञ्चालित उद्योगको क्षमता बढाउन अब कर्मचारीहरुलाई काममा फर्काउनुपर्ने भएको छ । अब विस्तारै शतप्रतिशत कामदारलाई फर्काउन हामी प्रयास गर्छौं ।’
लकडाउनका कारण अहिले अधिकांश कामदारहरु गाउँमा गएका छन् । लामो दूरीका यातायात सञ्चालन नभएको र खेतीपातीको मौसम भएकोले लकडाउन खुले पनि तत्कालै सबै कामदार फर्किने अवस्था छैन । यही कारण रोजगारी गुम्ने चिन्ता भइरहँदा उद्योगीहरु भने कामदार अभावको समस्या आउने चिन्तामा छन् । सरकारले उपत्यका र सम्बनिधत जिल्लाहरुको आन्तरिक आवागमन खुला गरे पनि जिल्ला छोडेर बाहिर जानेलाई निर्वाध रुपमा आवतजावत गर्न दिएको छैन ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।