म्याग्दी । धवलागिरि गाउँपालिका–६ मराङको पर्यटकीय सम्भावनायुक्त ठाउँ ठला धुरी (हललचौर) जोड्ने पदमार्ग निर्माण शुरु भएको छ । धवलागिरि गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत युवालाई परिचालन गरेर राम्चे गाउँदेखि हललचौर जोड्ने पदमार्ग निर्माण शुरु गरेको हो ।
पदमार्ग निर्माणमा ३० जनालाई परिचालन गरिएको छ । उनीहरुलाई तेह्र दिनसम्म काम लगाइने जनाइएको छ ।
कोरोना भाइरसको जोखिमका बीच लकडाउनको परिपालना गरी सामाजिक दूरी कायम गरेर आयोजना सञ्चालन गरिएको मराङका अगुवा श्रीप्रसाद गर्बुजाले बताए। पदमार्ग निर्माणमा तीन लाख रुपैयाँ विनियोजन भएको छ ।
प्राकृतिक हिसाबले रमणीय र पर्यटकीय सम्भावना भएको हललचौरको विकासका लागि पदमार्ग निर्माण गर्न लागिएको उनले बताए। लकडाउनको समयमा गाउँमै रोजगारी पाउँदा युवालाई राहत मिलेको छ ।
हललचौरबाट धवलागिरि, माछापुच्छ्रे, गुर्जालगायत हिमाल, ग्रामीण बस्ती, पहाडी भूगोल र वनजङ्गलको अवलोकन गर्न सकिन्छ ।
करिव दुई हजार ५०० मिटर उचाइमा अवस्थित हललचौरबाट धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकाको भूगोलका साथै सूर्योदयको दृश्य अवलोकन गर्न सकिन्छ ।
पदमार्ग पुर्याएपछि भ्यूटावर, वनभोजस्थललगायत पूर्वाधार निर्माण गरिने वडाध्यक्ष राजाराम सुवेदीले बताए ।
पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । मराङको बेँसी–राम्चे–हललचौर–मलम्पार–मल्कवाङ–सीमकोश हुँदै धवलागिरि हिमालको आधार शिविर जोड्ने पदमार्गको समेत परिकल्पना गरिएको छ । मल्कवाङ हुँदै मुस्ताङ जोड्ने पदमार्गको समेत सम्भावना छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।