गृहमन्त्री रामबहादुर थापाले रूकुम पश्चिमको चौरहजारीमा भएको जातीय घटना अमेरिकामासमेत हुने गरेको बताएका छन्। जाजरकोटका नवराज आफ्नी प्रेमिकालाई लिन जाँदा वडाध्यक्षकै नेतृत्वमा कुटपिट र हत्या भएको घटनाबारे छलफल गर्न मंगलबार कानुन तथा मानवअधिकार समितिमा भएको बैठकमा बोल्दै उनले संसारको सबभन्दा बढी लोकतान्त्रिक र समृद्ध मुलुकमा समेत जातीय विभेदका घटना भइरहेका बताएका हुन्।
नेपालमा कानूनी र राजनीतिक रूपमा विभेद अन्त्य भए पनि व्यवहारिक रूपमा विभेद रहेको उनको भनाइ छ । संसारको सबभन्दा शक्तिशाली, सबभन्दा समृद्ध र सबभन्दा बढी सभ्य, लोकतान्त्रिक भन्ने देश अमेरिकामा पनि यही समयमा यस्तै घटना घटेको छ,” उनले भने, “केही समानता छन्। तर त्यहाँ राज्यबाटै विभेद भएको छ। कानून त्यहाँ पनि छन् कार्यान्वयनमा फितलो छ ।’
अमेरिकामा काला जातिका एक व्यक्तिलाई प्रहरीले घुँडाले घाँटी थिचेपछि उनको मृत्यु भएको घटनालाई लिएर विरोध प्रदर्शन भइरहेका छन् । यता रूकुम पश्चिममा हप्तादिन अघि भएको घटनामा जाजरकोटका नवराज विकसहित तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएकामध्ये दुई जनाको शव फेला परेको छ। उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालयले ५ सदस्यीय टोली गठन गरिसकेको छ।
मंगलबार संसदको कानून तथा मानवअधिकार समितिले दलित प्रहरीको सेल निर्माण गरी दलितमाथि हुने भेदभाव तथा ज्यादतीका घटना छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ। उक्त घटनाको निष्पक्ष छानबिन गर्न र अपराधीलाई कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।