काठमाडौँ , महामारीले गर्दा कोभिड बीच मंगलबार देखि मुलुक भर कक्षा १२ को परीक्षा हुँदै छ । कतिपय स्थानीय तहले विद्यार्थी, शिक्षक र अभिभावकमा संक्रमण फैलिएर वैकल्पिक कक्षासमेत स्थगन गरेका बेला राष्ट्रिय परीक्षा बोर्डले संक्षिप्त परीक्षा सञ्चालन गर्न लागेको छ ।
स्वास्थ्य सुरक्षा सम्बन्धी परीक्षाको बेला मापदण्ड पालना गर्न नसके संक्रमण झनै समुदायमा फैलिन सक्ने भनेर विज्ञहरूले सचेत गराएका छन् । बोर्डले पनि स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न केन्द्राध्यक्षहरूलाई निर्देशन दिएको छ ।
विश्वविद्यालयका प्राध्यापक तथा जनस्वास्थ्यविद् सुजनबाबु मरहठ्ठाले विद्यार्थी परीक्षा केन्द्रमा आउँदादेखि परीक्षा सकेर घरसम्म नपुग्दासम्म विशेष ध्यान दिनुपर्ने बताए ।
‘परीक्षा हल भित्र दुई/दुई मिटरको दूरीले मात्र पुग्दैन, विद्यार्थी परीक्षा हलमा प्रवेश गर्ने र निस्कने बेला पनि दूरी कायम गरेर नियन्त्रण गर्न सक्नुपर्छ,’ उनले थपे, ‘प्रवेश पत्र लिन आउँदा नै भीडभाड नगरी आऊ, एक अर्काबीच दूरी कायम गरेर हिँडडुल गर भनेर सचेत गराउनुपर्छ ।’ सकेसम्म सानोसानो समूह छुट्टाछुट्टै कक्षा कोठामा राखेर परीक्षा सञ्चालन गर्नुपर्ने उनले सुझाव छ ।
‘कोरोना संक्रमण भित्रभित्रै फैलिरहेकै छ, परीक्षा पनि लिनैपर्ने छ, सानोसानो कुरामा सावधानी अपनाए मात्र संक्रमणबाट जोगिन सकिन्छ बताए ।
बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले विद्यार्थीको भीडभाड रोक्न परीक्षा हल आधा घण्टाअघि नै खुल्न सक्ने व्यवस्था गरिएको बताए । ‘पहिले १५ मिनेटअघि मात्र खुल्थ्यो, अहिले आधा घण्टा भन्दा पहिल्यै खोल्न सकिनेछ, परीक्षा हल अनुसार आलोपालो भित्र पस्ने र बाहिर निस्कने व्यवस्था मिलाउन केन्द्राध्यक्षहरूलाई भनेका छौं,’ उनले भने । परीक्षार्थीले हल भित्र आपसमा सामग्री प्रयोग गर्नसमेत नपाउने उनले जनाए छन् ।
परीक्षार्थी ५ सय भन्दा बढी रहेका केन्द्र १ सय १३ वटा छन् । २ सयदेखि ५ सयसम्म परीक्षार्थी हुने केन्द्रको संख्या ३ सय ९७ छ । विद्यार्थी धेरै रहेको परीक्षा केन्द्रले स्वास्थ्य सुरक्षा पालना गर्न विशेष ध्यान दिनुपर्ने अर्यालले जनाए । १ सयदेखि २ सयसम्म विद्यार्थी रहेका परीक्षा केन्द्र ६ सय ९३ वटा छन् । १ सय सम्म परीक्षार्थी रहने परीक्षा केन्द्र १ हजार २१ छन् भने ५० जनासम्म परीक्षार्थी रहेका केन्द्र एक हजार ८ सय ८३ वटा छ ।
शिक्षा, स्वास्थ्य, गृह र संघीय मामिला मन्त्रालयमार्फत स्वास्थ्य मापदण्ड पालना गराउन जिल्ला, स्थानीय तह र परीक्षा केन्द्रसम्म परिपत्र गरिएको बोर्डले जनाएको छ । सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका पुगिसकेको अर्यालले बताए । इन्टरनेटको पहुँच नपुगेका हिमाली क्षेत्रलगायत परीक्षा केन्द्रमा बोर्डले नै प्रश्नपत्र पठाएको छ ।
इन्टरनेट सुविधा भएका विद्यालयमा परीक्षा सुरु हुनुभन्दा आधा घण्टाअघि अनलाइन माध्यमबाट प्रश्नपत्र पठाइनेछ । परीक्षा सकिएपछि उत्तरपुस्तिका विद्यालयमा नै परीक्षण गरेर बोर्डमा पठाउनुपर्नेछ । विद्यार्थीले आफूले अध्ययन गरेकै विद्यालय (होमसेन्टर) मा परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । करिब १२ हजार विद्यार्थीले आफूले पढेको भन्दा अन्यत्रको घरपायक परीक्षा केन्द्रबाट परीक्षा दिँदै छन् ।
सैद्धान्तिक तर्फ प्रत्येक विषयको कुल पूर्णाङ्कको ४० प्रतिशत मात्रै लिखित परीक्षा लिन लागिएको हो । मंसिर १६ गते परीक्षा सकिनेछ । कार्य विधि अनुसार प्रत्येक विषयको सैद्धान्तिक तर्फ ४० प्रतिशतको छोटो परीक्षा, ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा दिइने बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।