मंगलवार, कार्तिक १८ २०८३Nov 03 2026

  • TRENDING NOW :

दसैँमा उपत्यकामा प्रहरीको कडा पहरा, ८ हजार सुरक्षाकर्मी परिचालन

दसैँमा उपत्यकामा प्रहरीको कडा पहरा, ८ हजार सुरक्षाकर्मी परिचालन

मेगा खबर संवाददाता

२९, आश्विन २०८३
  • 532
    SHARES

  • दसैँमा उपत्यकामा प्रहरीको कडा पहरा, ८ हजार सुरक्षाकर्मी परिचालन

    काठमाडौं, दसैँमा ढुक्क भएर किनमेल गर्न र घर जान पाउनुहोस् भनेर काठमाडौं उपत्यकामा ८ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ । चोरी,लुटपाट र ठगीदेखि पाकेटमारी तथा सवारी दुर्घटनासम्मका जोखिम रोक्न प्रहरीले ड्रोनदेखि तालिमप्राप्त कुकुरसम्म प्रयोग गरेर सुरक्षा निगरानी बढाएको छ ।

    काठमाडौं,भक्तपुर र ललितपुरमा गरी ८ हजार १५ जना प्रहरी परिचालन गर्दै उपत्यका प्रहरी कार्यालयले दसैँ सुरक्षा योजना लागू गरेको हो । असोज ३१ गते फूलपातीदेखि सुरु हुने बिदालाई लक्षित गरी लागू गरिएको योजना छठसम्म जारी रहने डीआईजी गोविन्द थपलियाले बताएका छन् ।

    नाकादेखि बजारसम्म निगरानी

    उपत्यका प्रवेश गर्ने थानकोट,साँगा,फर्पिङ,मुड्खु,टोखा,जर्सिङपौवा र भट्टेडाँडालगायतका नाकामा सादा पोसाकका प्रहरी र तालिमप्राप्त कुकुरबाट जाँच भइरहेको छ। मुख्य बजार क्षेत्रमा ड्रोनबाट निगरानी गर्नुका साथै भीडभाड हुने ठाउँमा पाकेटमारी र लुटपाट नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित उपत्यकाका ३७ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएका छन् । यात्रुलाई टिकटमा ठगी र बिचौलियाको हैरानीबाट जोगाउन काठमाडौंको नयाँ बसपार्कमा मात्रै थप ३० प्रहरी खटाइएको छ ।

    मापसे गर्ने चालक पनि प्रहरीको नियन्त्रणमा

    चाडपर्व लक्षित सुरक्षा योजना लागू भएपछि मादक पदार्थ सेवन गरेर सवारी चलाउने २४६ जना र लागुपदार्थ सेवन गरेर चलाउने १२ जना नियन्त्रणमा परेका छन्। मापसे गर्नेमा सार्वजनिक सवारीका १८ चालकसमेत छन् ।

    त्यस्तै,रातको समयमा शंकास्पद गतिविधिमा संलग्न हुन सक्ने आशंकामा ३४१ जनालाई नियन्त्रणमा लिएर प्रहरीले जाँच गरेको छ । फलामको रडसहित फेला परेका सात जनामाथि अनुसन्धान भइरहेको छ । पक्राउ परेकामध्ये १२ जनाको विवरण प्रहरीको आपराधिक अभिलेख प्रणालीसँग मेल खाएपछि फरार आरोपीसम्बन्धी अनुसन्धानसमेत अघि बढाइएको छ।

    ठगीदेखि जुवाताससम्म प्रहरीको निगरानी

    प्रहरीले दसैँमा आर्थिक ठगी,अनलाइन स्क्यामचोरी,लुटपाट,गुण्डागर्दी,जुवातास,सट्टेबाजी र पटका प्रयोगलाई प्रमुख सुरक्षा चुनौती मानेको छ । बजारमा कृत्रिम अभाव सिर्जना गर्ने,कालोबजारी गर्ने र गुणस्तरहीन सामान बिक्री गर्ने गतिविधिमाथि पनि निगरानी बढाइएको छ ।

    बैंक तथा वित्तीय संस्था,सुनचाँदी पसल र आर्थिक कारोबार हुने स्थानमा सीसीटीभीमार्फत निगरानी भइरहेको छ । सार्वजनिक यातायातमा टिकटको कालोबजारी,यात्रु ठगी र बिचौलियाको हैरानी रोक्न विशेष निगरानी गरिने प्रहरीले जनाएको छ ।

    दसैँको भीडभाडमा हुन सक्ने अपराध नियन्त्रण गर्न प्रहरीले दिनरात गस्ती बढाएको छ । चाडपर्वलाई सुरक्षित बनाउन उपत्यकाका बजार,यातायात केन्द्र र संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    बिहिवार, आश्विन २९ २०८३०४:५०:२६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार