काठमाडौँ, दसैँमा सामानको अभाव र मूल्यवृद्धिको मार खेपिरहेका उपभोक्तालाई राहत दिने उद्देश्यले चीनसँगको तातोपानी नाका तीन दिनका लागि खुल्ने भएको छ । डेढ महिनादेखि बन्द नाका कात्तिक १ देखि ३ गतेसम्म अस्थायी रूपमा सञ्चालनमा आउनेछ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको पहलपछि चिनियाँ पक्षले नाका खोल्न सहमति जनाएको हो। यो अवधिमा मालवाहक ट्रकलाई मात्रै आवतजावत गर्न दिइने मन्त्रालयले जनाएको छ ।
गत भदौ १४ देखि बन्द रहेको तातोपानी नाका र बाढीका कारण अवरुद्ध रसुवागढी नाकाबाट सामान भित्रिन नसक्दा दसैँलक्षित वस्तुको आपूर्तिमा समस्या भएको थियो। रसुवाको भोटेकोशीमा आएको बाढीले तीनदेखि चार सय कन्टेनर बगाएको र चालकसमेत सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको थियो ।
नेपाल–चीन व्यापारको महत्त्वपूर्ण मार्ग तातोपानी नाका अस्थायी रूपमा खुल्दा व्यवसायीलाई सामान भित्र्याउन सहज हुने अपेक्षा गरिएको छ । यद्यपि, तीन दिनको सञ्चालनले बजारमा देखिएको अभाव र मूल्यवृद्धि कति कम गर्छ भन्ने स्पष्ट भइसकेको छैन।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।