महँगीको मार, इन्धनको मूल्यवृद्धि र प्रहरी दमनको विरोधमा फ्रान्सभरि जनआक्रोश सडकमा पोखिएको छ। शनिबार राजधानी पेरिससहित लियोँ, मार्सेई र लिललगायत सहरमा हजारौँ प्रदर्शनकारी सडकमा उत्रिए । कतै नाराबाजी भयो, कतै आगजनी र तोडफोड। केही प्रदर्शनकारी सरकारी कार्यालयमै प्रवेश गरेपछि प्रहरीसँग झडपसमेत भयो ।
फ्रान्सेली सञ्चारमाध्यम ले मोन्द र समाचार संस्था एएफपीका अनुसार लियोँको पर्यटन कार्यालयमा आगजनी गरिएको छ। मार्सेईमा प्रदर्शनकारीले नगरपालिकाको कार्यालयभित्र प्रवेश गरी फर्निचर तोडफोड गर्नुका साथै सालिक पल्टाएका थिए। लिलमा पनि मेयरको कार्यालयमा तोडफोड भएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ ।
पेरिसमा मात्रै १३० भन्दा बढी मानिस पक्राउ परेका छन्। प्रदर्शनकारीले राष्ट्रपति इम्यानुएल म्याक्रोंको राजीनामा माग्दै चर्का नारा लगाएका थिए। केहीले अहिलेको आन्दोलनलाई सन् १७८९ को फ्रान्सेली क्रान्तिसँग समेत तुलना गरेका छन्।
पहेँलो भेस्ट आन्दोलन फेरि सडकमा
सन् २०१८ मा इन्धन कर वृद्धिको विरोधबाट चर्चामा आएको ‘येलो भेस्ट’ अर्थात् पहेँलो भेस्ट आन्दोलनले यसपटक पनि प्रदर्शनको आह्वान गरेको थियो। विद्यार्थी, युवा, मजदुर, शिक्षक, किसान र अवकाशप्राप्त कर्मचारीलाई समेत आन्दोलनमा सहभागी हुन आग्रह गरिएको थियो।
आयोजकहरूले देशभर ६०० भन्दा बढी प्रदर्शन गर्ने योजना बनाएका थिए। पछिल्ला चार सातादेखि जारी विद्यार्थी आन्दोलनसमेत यसमा जोडिएपछि सरकारमाथिको दबाब बढेको छ।
महँगीको मार, युद्धको असर
प्रदर्शनकारीले जीवनयापनको बढ्दो लागत र इन्धनको महँगीलाई मुख्य मुद्दा बनाएका छन्। पश्चिम एसियाको युद्धका कारण मुद्रास्फीति बढेको उनीहरूको दाबी छ। विद्यार्थी आन्दोलनका क्रममा प्रहरीले गरेको बल प्रयोगप्रति पनि उनीहरूले आक्रोश पोखेका छन्।
राष्ट्रपति म्याक्रोंले शुक्रबार प्रदर्शनकारीलाई सार्वजनिक सम्पत्ति र अन्य व्यक्तिको सम्मान गर्न आग्रह गरेका थिए। तर, सडकमा उत्रिएको आक्रोशले फ्रान्सको राजनीतिक वातावरण थप तनावपूर्ण बनाएको छ।
निर्वाचनअघि सरकारमाथि दबाब
फ्रान्समा आगामी छ महिनाभित्र राष्ट्रपति निर्वाचन हुने तयारीबीच महँगीविरुद्धको आन्दोलन चर्किएको हो। दक्षिणपन्थी नेतृ मरीन ले पेनले तोडफोड र लुटपाटले प्रदर्शनलाई बदनाम गरेको आरोप लगाएकी छन्। अर्कोतर्फ, वामपन्थी नेता जाँ–लुक मेलाँसोंले अधिकांश प्रदर्शन शान्तिपूर्ण भए पनि सञ्चारमाध्यमले हिंसाका घटनालाई बढी प्राथमिकता दिएको टिप्पणी गरेका छन्।
पेरिसमा विद्यार्थी प्रतिनिधि रियाद रानीले सरकारप्रति आक्रोश व्यक्त गर्दै भने, ‘सरकार काँपिरहेको छ । उसले काँप्न पनिुपर्छ, किनकि फ्रान्सेली जनता आक्रोशित हुँदा उनीहरू आन्दोलन रोक्दैनन्।’
महँगी, इन्धनको मूल्यवृद्धि र प्रहरीको बल प्रयोगविरुद्ध चर्किएको प्रदर्शनले फ्रान्सेली सरकारलाई निर्वाचनअघि नै ठूलो राजनीतिक दबाबमा पार्ने सङ्केत गरेको छ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।