काठमाडौँ, बडादशैँको आठौँ दिन महाअष्टमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ ।
आश्विन शुक्ल अष्टमीका अवसरमा दुर्गा भवानीका महाकाली, महालक्ष्मी र महासरस्वती स्वरूपको विशेष पूजा आराधना गरिँदैछ । महाअष्टमीका दिन दशैँघर, कोत र विभिन्न शक्तिपीठमा विधिपूर्वक पूजा गरी पशुबलि दिने परम्परा छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गर्दै भक्तजनले शक्तिस्वरूपा दुर्गा भवानीको आराधना गर्छन् ।
आज उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, सङ्कटा र दक्षिणकालीलगायत शक्तिपीठमा बिहानैदेखि भक्तजनको घुइँचो लाग्ने गर्छ। उपत्यकाबाहिर मनकामना, छिन्नमस्ता भगवती, राजदेवी, उग्रतारा, चण्डेश्वरी, पलाञ्चोक भगवती र पाथीभरालगायत मन्दिरमा पनि विशेष पूजा आराधना गरिन्छ ।
महाअष्टमीमा देवीका शस्त्रअस्त्रका रूपमा कलपुर्जा, हातहतियार र यातायातका साधन सफा गरी पूजा गर्ने चलनसमेत छ । पशुबलि नदिनेहरूले काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल चढाएर आफ्नो कुल परम्पराअनुसार पूजा गर्छन् ।महाअष्टमीको रातलाई कालरात्रिका रूपमा विशेष पूजा गर्ने परम्परा छ । हनुमानढोकास्थित दशैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिएर कालरात्रि पूजा गरिने परम्परा छ ।
धर्मशास्त्रविद्हरूका अनुसार महाअष्टमी दुर्गा भवानीको आराधनामार्फत शक्ति प्राप्ति र आसुरी प्रवृत्तिको नाशको कामना गर्ने महत्त्वपूर्ण पर्व हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।