काठमाडौँ, शारदीय नवरात्रको पाँचौँ दिन आज देवी स्कन्दमाताको पूजा–आराधना गरिँदै छ। नवदुर्गाका पाँचौँ स्वरूप स्कन्दमातालाई सन्तान सुख, शान्ति, समृद्धि र मुक्तिकी देवीका रूपमा श्रद्धापूर्वक पूज्ने परम्परा छ ।
कमलको फूलमा विराजमान हुने भएकाले स्कन्दमातालाई पद्मासना देवी पनि भनिन्छ। सेतो वर्ण र सिंह वाहन भएकी यी देवीका चार हात छन् । दुई हातमा कमलको फूल, एक हातमा वरमुद्रा र अर्को हातले काखमा रहेका पुत्र कार्तिकेयलाई सम्हालेको स्वरूपमा उनको वर्णन गरिएको छ ।
पौराणिक कथाअनुसार, तारकासुर नामक राक्षसले तीनै लोकमा आतंक मच्चाएपछि भगवान् शिव र पार्वतीका पुत्र कार्तिकेयले उनको वध गरेका थिए। तारकासुरको अत्याचारबाट देवताहरूलाई मुक्ति दिलाउन कार्तिकेयको जन्म भएको धार्मिक विश्वास छ। स्कन्दमाताको पूजा गर्दा पुत्र कार्तिकेयको समेत आराधना हुने मान्यता छ ।
देवी भागवत पुराणअनुसार स्कन्दमाता सूर्यमण्डलकी अधिष्ठात्री देवी हुन्। उनको भक्तिपूर्वक पूजा गर्दा साधकले अलौकिक तेज र कान्ति प्राप्त गर्ने विश्वास गरिन्छ। साथै, मनोकामना पूरा हुने, मानसिक शान्ति मिल्ने र मोक्ष प्राप्तिको मार्ग सहज हुने धार्मिक मान्यता छ ।
यस दिन भक्तजनले स्नान गरी शुद्ध भएर देवीको प्रतिमा वा कलश स्थापना गर्छन्। पञ्चामृत, फूल, चन्दन, अक्षता, धूप–दीप, नैवेद्य र फलफूल चढाएर पूजा गरिन्छ। देवीको स्तोत्र तथा मन्त्र पाठ गरी आरती गर्ने र प्रसाद वितरण गर्ने परम्परा छ।
स्कन्दमाताको पूजा मन्त्र
सिंहासनगता नित्यं पद्माश्रितकरद्वया।
शुभदास्तु सदा देवी स्कन्दमाता यशस्विनी॥
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।