काठमाडौं, भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको शव पहिचान अन्तिम चरणमा पुगेको छ । डीएनए परीक्षण र अन्य प्राविधिक प्रक्रिया पूरा गरेर दसैँपछि शव आफन्तलाई बुझाउने तयारी गरिएको छ ।
बाढीमा भेटिएका तर पहिचान खुल्न नसकेका १ हजार १४८ शव गाडेर सुरक्षित राखिएको थियो। भदौ १० मा तिब्बततर्फको ल्हेन्दे खोलामा आएको बाढीले भोटेकोशी र त्रिशूली नदीमा विनाश मच्चाउँदा १ हजार ४१० जनाको मृत्यु पुष्टि भएको छ ।
प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार शवबाट संकलित हड्डी र दाँतका नमुना तथा आफन्तको रगतबाट लिइएका नमुनासहित ३ हजार ५२२ वटा नमुनाको परीक्षण अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र नास्टमा डीएनए परीक्षण गरिएको हो ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा १ हजार ६८० वटा डीएनए प्रोफाइल तयार भइसकेका छन् भने नास्टले चिनियाँ प्राविधिकको सहयोगमा ८७० वटा नमुनाको डीएनए प्रोफाइल तयार गरेको छ ।
डीएनएसँगै औँठाछापबाट पनि पहिचान
डीएनए परीक्षणका नतिजाका आधारमा गठित विपद् पीडित पहिचान समूहले सफ्टवेयरको सहायताले शव पहिचान गरिरहेको छ। पहिचानका क्रममा डीएनएसँगै मृतकको औँठाछाप, राष्ट्रिय परिचयपत्रको विवरण, अध्यागमनको अभिलेख र आफन्तले भरेको विवरणसमेत भिडाइनेछ।
पहिचान प्रक्रिया पूरा भएपछि दसैँपछि शव आफन्तलाई हस्तान्तरण गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।