मंगलवार, कार्तिक १८ २०८३Nov 03 2026

  • TRENDING NOW :

शुक्र अस्त हुँदै, दसैँको पूजा र टीका–जमरा लगाउन बाधा नपर्ने

शुक्र अस्त हुँदै, दसैँको पूजा र टीका–जमरा लगाउन बाधा नपर्ने

मेगा खबर संवाददाता

२८, आश्विन २०८३
  • 442
    SHARES

  • शुक्र अस्त हुँदै, दसैँको पूजा र टीका–जमरा लगाउन बाधा नपर्ने

    काठमाडौँ, आज बुधबार दिउँसो १ बजेर ४० मिनेटदेखि शुक्र ग्रह पश्चिम दिशामा अस्त हुँदैछ। आगामी कात्तिक ११ गते राति १२ बजेर ४९ मिनेटमा पूर्व दिशाबाट उदय हुने ज्योतिषीय गणना छ । शुक्र अस्तको अवधि बडादसैँसँगै परे पनि देवी पूजा, टीका र जमरा ग्रहण गर्न कुनै बाधा नपर्ने बताइएको छ ।

    ज्योतिष शास्त्रअनुसार शुक्र ग्रहलाई धन, प्रेम, विवाह, सुख–सुविधा र शुभ कार्यको कारक मानिन्छ। सूर्यसँग कोणीय दूरी १० डिग्रीभन्दा कम हुँदा ग्रह अस्त हुने र त्यसको शुभ प्रभाव कमजोर हुने धार्मिक विश्वास छ । त्यसैले शुक्र अस्त भएका बेला विवाह, व्रतबन्ध र गृहप्रवेशजस्ता नयाँ माङ्गलिक कार्य गर्न निषेध गरिएको छ ।

    तर, शुक्र अस्तको समयमा नित्य तथा नैमित्तिक धार्मिक कर्म गर्न रोक छैन। दसैँका अवसरमा गरिने दुर्गा पूजा, फूलपाती, महाअष्टमी, महानवमी, सप्तशती चण्डी पाठ, हातहतियार पूजा तथा विजयादशमीमा टीका–जमरा ग्रहण गर्न शास्त्रीय बाधा नपर्ने जनाइएको छ ।

    धार्मिक मान्यताअनुसार यस अवधिमा स्नान, सन्ध्या, तुलसी पूजा, श्राद्ध, तर्पण तथा मृतकको अन्तिम संस्कारसम्बन्धी कर्म पनि गर्न सकिन्छ। त्यसैले शुक्र अस्तका कारण दसैँका नियमित पूजाआजा र परम्परागत विधिमा कुनै असर पर्ने छैन ।

    यद्यपि, शुक्र अस्तको अवधिमा विवाह, व्रतबन्ध, गृहप्रवेश, नयाँ घर निर्माणको थालनी, मन्दिर निर्माण, देवताको प्राणप्रतिष्ठा तथा अन्य नयाँ माङ्गलिक कार्य गर्न शास्त्रले निषेध गरेको छ। नयाँ तीर्थयात्रा, दीक्षा ग्रहण र केही विशेष धार्मिक अनुष्ठानसमेत यस अवधिमा नगर्नु उचित मानिन्छ।

    शुक्रलाई सवारीसाधन र विलासिताको कारक ग्रहसमेत मानिने भएकाले यस अवधिमा नयाँ सवारीसाधन खरिद–बिक्री नगर्नु राम्रो हुने ज्योतिषीय मान्यता छ। तथापि, शुक्र अस्त हुँदैमा दसैँको उत्सव, देवी आराधना र टीका–जमरा ग्रहणमा भने कुनै बाधा नपर्ने बताइएको छ ।

    बुधवार, आश्विन २८ २०८३०८:२४:४६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार