काठमाडौँ, शारदीय नवरात्रको चौथो दिन आज देशभर नवदुर्गाकी चौथो स्वरूप कुष्माण्डा देवीको पूजा–आराधना गरिँदैछ । आश्विन शुक्ल चतुर्थीका अवसरमा बिहानैदेखि विभिन्न शक्तिपीठ तथा देवी मन्दिरमा दर्शन र पूजाआजाका लागि भक्तजनको भीड लागेको छ ।
पौराणिक मान्यता अनुसार सृष्टि हुनुअघि चारैतिर अन्धकार छाएका बेला कुष्माण्डा देवीले आफ्नो शक्तिबाट ब्रह्माण्डको रचना गरेकी थिइन् । त्यसैले उनलाई सृष्टिको आदिशक्ति पनि भनिन्छ। धार्मिक विश्वासअनुसार उनको वास सूर्यमण्डलभित्र रहेको छ।
आठ हात भएकी अष्टभुजा देवीको वाहन सिंह हो। उनका हातमा कमण्डलु, धनुष, बाण, कमल, अमृतपूर्ण कलश, चक्र, गदा र सिद्धि प्रदान गर्ने माला रहेको धार्मिक ग्रन्थमा उल्लेख छ । कुष्माण्डा देवीको विधिपूर्वक पूजा गर्नाले आयु, यश, बल र आरोग्य प्राप्त हुने विश्वास गरिन्छ ।
यस दिन देवीलाई कुभिण्डो चढाउने परम्परा छ। संस्कृतमा कुभिण्डोलाई ‘कुष्माण्डा’ भनिने भएकाले यसलाई देवीको प्रतीकका रूपमा पूजा गर्ने चलन रहेको हो । साथै, देवीलाई मालपुवा चढाउने र प्रसादका रूपमा ग्रहण गर्ने परम्परा पनि छ ।
नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा गर्दा कमल तथा रातो फूल, फलफूल, पञ्चामृत र नैवेद्य अर्पण गरिन्छ। विधिपूर्वक पूजा, स्तोत्रपाठ र आरती गरी प्रसाद वितरण गर्ने चलन छ।
नवरात्रका नौ दिन नवदुर्गाका फरक–फरक स्वरूपको पूजा गरिन्छ। धार्मिक आस्थासँग जोडिएको यो पर्वमा देवीको आराधना गर्न मन्दिरदेखि घरघरका पूजाकोठासम्म भक्तजन जुटेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।