काठमाडौं,बूढानीलकण्ठको माथिल्लो भंगालबाट बरामद भएको २१ किलो ७५०.६८ ग्राम सुन प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिकलाई पनि थप अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालय पठाएको हो ।
कार्यालयका एसएसपी सन्तोष खड्काले भन्सारमा बुझाए पनि सुन तस्करीसँग जोडिएको सम्भावित सञ्जालबारे प्रहरीको अनुसन्धान जारी रहेको बताए । उनका अनुसार घटनाको सबै पक्ष र सम्भावित ‘नेक्सस’ खोतल्न छुट्टै अनुसन्धान टोली बनाएर काम भइरहेको छ ।
प्रहरीले असोज २२ गते माथिल्लो भंगालस्थित एक घरबाट सुनका टुक्रा,बिस्कुट आकारका ढिक्का र लेसिलो अवस्थाको सुन बरामद गरेको थियो । बरामद सुनको त्यही दिनको बजार मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।
सुनसहित चीनको जियाङ्सु–ग्वाङडोङका २७ वर्षीय हान फिई, ४७ वर्षीय चोउ लङसिन र ३७ वर्षीय वाङ जियान्जेन पक्राउ परेका छन् ।
प्रहरीका अनुसार उनीहरूले सिंगो घर भाडामा लिएर सुन प्रशोधन गर्ने ‘कारखाना’ सञ्चालन गरेको आरोप छ । बरामद सुन हवाई रुट हुँदै नेपाल भित्रिएको हुनसक्ने प्रहरीको आशंका छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।