बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

दसैँमा घर फर्किनेलाई राहत : धुन्चेसम्म ४–५ दिनमै गाडी चलाउने सरकारको तयारी

दसैँमा घर फर्किनेलाई राहत : धुन्चेसम्म ४–५ दिनमै गाडी चलाउने सरकारको तयारी

मेगा खबर संवाददाता

२१, आश्विन २०८३
  • 493
    SHARES

  • दसैँमा घर फर्किनेलाई राहत : धुन्चेसम्म ४–५ दिनमै गाडी चलाउने सरकारको तयारी

    काठमाडौं, दसैँमा घर फर्किने तयारीमा रहेका यात्रुका लागि सरकारले राहतको खबर दिएको छ । बाढीपहिरोले ठाउँ–ठाउँमा अवरुद्ध सडक खुलाउन तीव्र रूपमा काम भइरहेको भन्दै सडक विभागले दसैँअघि नै मुख्य राजमार्ग सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

    बाढीपहिरोले क्षतिग्रस्त रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखालगायत जिल्लाका सडकमा मर्मतको काम तीव्र पारिएको सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले बताए ।

    उनका अनुसार अबको ४–५ दिनभित्र रसुवाको धुन्चेसम्म यातायात सञ्चालनमा ल्याउने लक्ष्य छ। मुस्ताङतर्फको सडक पनि चाँडै सञ्चालनमा आउने उनले बताए ।

    ‘यात्रामा केही असजिलो भए पनि सडककै कारण उपत्यकाबाट घर जान नपाउने अवस्था हुँदैन,’न्यौपानेले भने, खाद्यान्न तथा अत्यावश्यक वस्तुको ढुवानीसमेत रोकिने अवस्था रहँदैन ।

    भदौ १० गतेको भोटेकोशी बाढीपछि रसुवाका मुख्य राजमार्ग प्रभावित छन् । यस्तै, म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा असोज १० गते गएको पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ ।

    नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बौदिकाली गाउँपालिका–३ स्थित जन्ती पहिरोले प्रभावित कालीगण्डकी करिडोर भने अहिले एकतर्फी सञ्चालनमा आएको छ। ठूला सवारीसाधन भने अझै सञ्चालन गर्न कठिन रहेको प्रहरीले जनाएको छ।

    मनाङको बेँसीसहर–खाङ्सार सडकखण्ड पनि असोज १८ गतेको बाढीपछि प्रभावित भएको थियो। उक्त सडक अहिले एकतर्फी सञ्चालनमा आएको छ ।

    दसैँमा ठूलो संख्यामा सर्वसाधारण उपत्यकाबाट बाहिरिने भएकाले सडक विभागले बाँकी अवरुद्ध सडक पनि सकेसम्म छिटो खुलाउने तयारी अघि बढाएको छ ।

    बुधवार, आश्विन २१ २०८३०४:०४:५२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार