काठमाडौं, बङ्गालको खाडीबाट विकसित न्यून चापीय प्रणालीका कारण असोज ९ देखि १२ गतेसम्म परेको अविरल वर्षापछिको विपद्मा देशभर २७ जनाले ज्यान गुमाएका छन् । बाढी, पहिरो र भारी वर्षाका कारण सयौँ घटना हुँदा ठूलो जनधनको क्षति भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो स्थिति प्रतिवेदनअनुसार वर्षाका कारण देशभर ५४२ वटा विपद्का घटना दर्ता भएका छन् । ती घटनामा ४ जना बेपत्ता र ८ जना घाइते भएका छन् भने १ हजार ८२ परिवार प्रत्यक्ष प्रभावित भएका छन् ।
प्राधिकरणका अनुसार सबैभन्दा बढी मानवीय क्षति पहिरोबाट भएको छ। देशभर ३०४ वटा पहिरोका घटना हुँदा २० जनाको मृत्यु भएको छ । पहिरोमा ४ जना बेपत्ता र ७ जना घाइते भएका छन् ।
त्यस्तै, ८७ वटा बाढीका घटनामा ४ जनाको मृत्यु भएको छ । भारी वर्षासँग सम्बन्धित १५१ घटनामा थप ३ जनाले ज्यान गुमाएका छन् भने एक जना घाइते भएका छन् ।
यसैबीच, क्याम्प खडा गर्ने उद्देश्यले हिमलुङ हिमालतर्फ गएको २२ जनाको नेपाली टोलीमध्ये हालसम्म ४ जनाको शव फेला परेको छ। बाँकीको खोजी तथा उद्धारका लागि हेलिकप्टर परिचालन गरी हवाई खोजी भइरहेको प्राधिकरणले जनाएको छ ।
वर्षाका कारण भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको छ । २२७ घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने १४२ घरमा आंशिक क्षति पुगेको छ। बाढीले देशभरका १० वटा पुलमा क्षति पुर्याएको छ ।
बागलुङमा कालीगण्डकी नदीले पुल बगाउँदा यातायात सम्पर्कसँगै विद्युत् र टेलिफोन सेवा प्रभावित भएको छ । म्याग्दीमा करिब ४०० मिटर सडक कटानमा परेको छ भने विभिन्न राजमार्गसमेत अवरुद्ध भएका छन् ।
कृषि तथा पशुपालन क्षेत्रमा समेत विपद्को असर परेको छ। देशभर ३१ वटा गोठ भत्किएका छन् भने ११४ पशुचौपायाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।
विपद्को जोखिम रहेका क्षेत्रबाट करिब २ हजार जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । उद्धार तथा राहतका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
म्याग्दी, जाजरकोट, हुम्ला, मुगु र दैलेखलगायतका दुर्गम जिल्लामा बाढी तथा पहिरोमा फसेका र गम्भीर घाइते भएकालाई हेलिकप्टरमार्फत उद्धार गरिएको थियो ।
पूर्वतयारीस्वरूप प्राधिकरणले जोखिम सम्भावित क्षेत्रका नागरिकलाई लक्षित गर्दै करिब ९ लाख ८० हजार एसएमएस पठाएको थियो। पर्यटकलाई लक्षित गरी करिब ९ हजार अंग्रेजी भाषाका सूचनासमेत प्रवाह गरिएको प्राधिकरणले जनाएको छ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।