काठमाडौँ,लगातारको वर्षा, बाढी र पहिरोले देशभरका प्रमुख राजमार्ग प्रभावित भएका छन् । कतै सडक अवरुद्ध छ भने कतै एकतर्फी यातायात सञ्चालनमा छ । सडक विभागले अवरुद्ध सडक खुलाउने काम तीव्र पारेको जनाएको छ ।
पूर्व–पश्चिम राजमार्ग भने दुईतर्फी रूपमा सञ्चालनमा छ । पृथ्वी राजमार्गको रातीखोला र पानीधारा क्षेत्रमा खसेको ठूलो ढुंगा हटाएपछि यातायात सुचारु भएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्ड पनि सञ्चालनमा छ। तर बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो र डाइभर्सनका कारण अवरोध कायमै छ । मान्ती, पिप्ले, दाउन्ने–कालोपुल, चार सयबेँसी, कटुन्जे र चौकीडाँडामा सडक खुलाउने काम भइरहेको छ।
कान्ति राजमार्गमा पहिरो हटाउने काम जारी छ। थप पहिरो नआए राति १० बजेपछि सडक सञ्चालनमा ल्याउने तयारी छ। हुलाकी राजमार्गको ठोरी–माडी खण्डमा घ्याङखोलाको धार परिवर्तनका कारण सडक संरचनामा क्षति पुगेपछि यातायात प्रभावित भएको छ ।
मध्यपहाडी राजमार्गको घोडाबाँधे–हटिया खण्ड अवरुद्ध छ भने हटिया–बुर्तिबाङ खण्डमा एकतर्फी यातायात चलिरहेको छ। सिद्धिचरण राजमार्गमा सडक भासिएपछि अस्थायी रूपमा यातायात सञ्चालन गरिएको छ ।
कालीगण्डकी करिडोरका विभिन्न खण्डमा पनि पहिरो र सडक भासिने समस्या देखिएको छ। बेनी–जोमसोम, पाल्पा, बागलुङ र नवलपरासी क्षेत्रमा सडक तथा पुलको पहुँचमार्गमा क्षति पुगेको विभागले जनाएको छ। पूर्ण सुधारमा तीन दिनभन्दा बढी लाग्न सक्ने अनुमान छ ।




मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।