काठमाडौँ, दसैँ–तिहारमा घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै सरकारले सार्वजनिक यातायातमा कडाइ गरेको छ। यातायात व्यवस्था विभागले यात्रुको सुरक्षा र सहज यात्राका लागि १५ बुँदे नयाँ व्यवस्था लागू गरेको हो ।
अब मध्यम तथा लामो दूरीका सवारीमा अग्रिम टिकट बुकिङसँगै अनलाइन टिकट बिक्रीलाई प्राथमिकता दिइनेछ । अनधिकृत काउन्टर र परिचयपत्र नभएका व्यक्तिबाट टिकट बिक्री गर्न रोक लगाइएको छ ।
लामो दूरीका सवारीमा दुई चालक अनिवार्य गरिएको छ । यात्रा सुरु गर्नुअघि सवारीको मेकानिकल परीक्षण गर्नुपर्नेछ। १८ वर्ष नपुगेका बालबालिकालाई सहचालक वा अन्य काममा लगाउन पनि पूर्ण रोक लगाइएको छ ।
उपत्यका प्रवेश तथा बाहिरिने नाकासहित देशभरका प्रमुख स्थानमा चालकको स्वास्थ्य परीक्षणसँगै मापसे र लागुपदार्थ सेवनको जाँच हुने छ । चालकले मापसे वा लागुपदार्थ सेवन गरेको भेटिए व्यवसायीले तत्काल अर्को चालकको व्यवस्था गर्नुपर्नेछ ।
यात्राका क्रममा खाना तथा खाजाका लागि रोक्ने होटल–रेस्टुरेन्ट पनि मापदण्डअनुसारकै हुनुपर्नेछ। चाडपर्वमा हुने भीड र दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै यातायात विभाग,नेपाल प्रहरी, ट्राफिक प्रहरीलगायत निकायले संयुक्त अनुगमन गर्नेछन्।
रुट परमिट खुला गर्ने तथा अग्रिम टिकट बुकिङ सुरु हुने मिति भने सरोकारवालासँगको छलफलपछि तय गरिने विभागले जनाएको छ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।