पोखरा, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि फ्लाई दुबईले दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ। लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु हुने भएपछि पोखराका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन् ।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पूर्वाधार तथा सम्पूर्ण तयारी पूरा भइसकेको छ। फ्लाई दुबईको विमान बुधबार साँझ ६ः१५ बजे पोखरा अवतरण गर्नेछ भने यात्रु लिएर ७ः१५ बजे दुबई प्रस्थान गर्नेछ।
अध्यागमन,भन्सार,कार्गोलगायतका सबै सेवा सञ्चालनका लागि विमानस्थल तयारी अवस्थामा रहेको निरौलाले बताए। विमानस्थल सञ्चालनमा आएपछि केही अन्तर्राष्ट्रिय उडान भए पनि नियमितता पाउन नसकेको अवस्थामा फ्लाई दुबईको दैनिक उडानले नयाँ उत्साह थपेको उनको भनाइ छ ।
फ्लाई दुबईबाट पोखरा आउने तथा दुबई जाने यात्रु र पर्यटकलाई पोखराका पर्यटन व्यवसायीले खादा तथा मालाले स्वागत र बिदाइ गर्ने तयारी गरेका छ ।
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले दुबई विश्वकै प्रमुख हवाई ट्रान्जिट हब भएकाले पोखरा–दुबई उडानले पोखराको अन्तर्राष्ट्रिय पर्यटन विस्तारमा सहयोग पुग्ने बताए । फ्लाई दुबईले दुबईबाट विश्वका धेरै गन्तव्यमा उडान गर्ने भएकाले पोखरालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न सहज हुने उनको भनाइ छ ।
यस्तै, दुबई रोजगारी तथा अध्ययनका लागि जाने नेपालीका लागि पनि पोखराबाटै नियमित उडान सञ्चालन हुँदा यात्रा सहज हुने अपेक्षा गरिएको छ । उडानलाई लक्षित गर्दै विमानस्थलमा आवश्यक सुरक्षा व्यवस्थासमेत मिलाइएको जिल्ला प्रशासनले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।