काठमाडौँ, बजारमा देखिएको एलपी ग्यासको कालोबजारी र आपूर्तिको अन्योल हटाउन सरकारले घरायसी र व्यावसायिक प्रयोजनका ग्यास छुट्टाछुट्टै सिलिन्डरमा बिक्री गर्ने तयारी थालेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसबारे अध्ययन गर्न १५ दिनको समय दिएर कार्यदल गठन गरेको छ । कार्यदलले घरायसी तथा होटल, रेस्टुरेन्ट र उद्योगमा प्रयोग हुने व्यावसायिक ग्यासलाई कसरी छुट्याउने र दुवैको मूल्य कसरी निर्धारण गर्ने भन्नेबारे अध्ययन गर्नेछ ।
कार्यदलमा मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग र ग्यास उद्योगी संघका प्रतिनिधि रहनेछन् । अध्ययनपछि कार्यदलले मन्त्रालयमा प्रतिवेदन बुझाउनेछ ।
यसअघि नै व्यावसायिक प्रयोजनका लागि ४५० केजी क्षमताको ठूलो सिलिन्डरको मापदण्ड स्वीकृत भइसकेको छ । तर, व्यावसायिक ग्यासको बिक्री मूल्य र अनुदानसम्बन्धी कार्यविधि टुंगो नलाग्दा यसको प्रयोग सुरु हुन सकेको छैन ।
अब कार्यदलको प्रतिवेदनका आधारमा घरायसी र व्यावसायिक ग्यासका सिलिन्डर तथा मूल्य फरक बनाउने तयारी गरिएको हो । सरकारले यसबाट ग्यासको दुरुपयोग, कालोबजारी र बजारमा देखिएको मूल्यसम्बन्धी अन्योल कम हुने अपेक्षा गरेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।