काठमाडौं, देशका प्रमुख नदीमा अहिले पानीको बहाव सतर्कता तहभन्दा तल रहे पनि आगामी तीन दिन भने जलसतह बढ्ने पूर्वानुमान गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले आजदेखि असोज २ गतेसम्म विभिन्न नदी तथा खोलामा बहाव बढ्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
महाशाखाका अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकालीसहितका प्रमुख नदी र तिनका सहायक नदीमा हाल बहाव नियन्त्रणमै छ । तर वर्षाको अवस्थाअनुसार आगामी दिनमा जलसतह बढ्न सक्ने देखिएको हो।
कोशी जलाधारका सप्तकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी र सुनकोशीमा आजदेखि तीन दिनसम्म जलसतह उल्लेखनीय रूपमा बढ्ने अनुमान छ । त्यस्तै नारायणी, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकीमा पनि पानीको सतह निरन्तर बढ्ने पूर्वानुमान गरिएको छ ।
महाकाली नदीमा समेत तीनै दिन जलसतह उल्लेख्य रूपमा बढ्न सक्ने महाशाखाले जनाएको छ। कर्णाली, भेरी तथा पश्चिम सेतीमा भने सामान्य रूपमा बहाव बढ्ने अनुमान छ। कन्काई, कमला, पश्चिम राप्ती र बबई नदीमा पनि आगामी तीन दिन बहाव बढ्ने सम्भावना छ ।
आज बागमती र पूर्वी राप्ती नदीमा जलसतह उल्लेखनीय रूपमा बढ्ने अनुमान गरिएको छ। यद्यपि भोलि र पर्सि यी नदीमा बहाव सामान्य रूपमा मात्र बढ्ने महाशाखाको पूर्वानुमान छ ।
यसैबीच, आज ताप्लेजुङ, संखुवासभा, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, हुम्ला, बझाङ र बाजुरालगायत जिल्लाका साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्न सक्ने बताइएको छ।
यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले खोला तथा नदी आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।
महाशाखाका अनुसार भोलि असोज १ गते सुदूरपश्चिम, लुम्बिनी र मधेश प्रदेशका केही साना नदीमा अचानक बहाव बढ्न सक्छ। असोज २ गते कोशी र मधेश प्रदेशका केही साना नदीमा पनि यस्तै जोखिम रहने पूर्वानुमान गरिएको छ।
नदीको बहाव सामान्य अवस्थामा रहे पनि आगामी तीन दिन वर्षाको अवस्थाअनुसार जोखिम बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दाले नदी तथा खोलाको अवस्था नियाल्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।