काठमाडौं, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न प्रमुख राजमार्गमा यातायात प्रभावित भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका केही सडकखण्डमा यातायात पूर्ण रूपमा रोकिएको छ भने कतिपय स्थानमा एकतर्फी मात्रै सञ्चालन भइरहेको छ ।
बागमती प्रदेशमा सबैभन्दा बढी असर देखिएको छ। काभ्रेमा सम्भावित बाढीको जोखिमका कारण खुर्कोट–नेपालथोक–कटुञ्जेबेसी सडकखण्डमा सूचना जारी नभएसम्म सवारी आवागमन रोकिएको छ ।
रसुवाका मुख्य राजमार्ग बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन् । नुवाकोटमा सम्भावित बाढी र पहिरोको जोखिमका कारण टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी चलाउन रोक लगाइएको छ। विदुर नगरपालिका–१० सिमटारस्थित पासाङ ल्हामु सडकखण्ड पनि पूर्ण रूपमा बन्द छ ।
धादिङको बेनीघाट रोराङ–७ कृष्णभीरमा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । सोही गाउँपालिकाको ज्वालामुखी तथा शीतलबजार क्षेत्रमा भने एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।
चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइनखोलामा सडक मर्मत भइरहेकाले सवारीको चाप हेरेर एकतर्फी आवागमन गराइएको छ ।
यस्तै, गण्डकी प्रदेशको मनाङमा चामे–बेँसीसहर सडकखण्डको धारापानी क्षेत्रमा साना सवारी साधन मात्र सञ्चालनमा छन् ।
कर्णाली प्रदेशको हुम्लामा पहिरोका कारण सर्केगाड गाउँपालिका–६ स्थित कर्णाली करिडोर पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।