काठमाडौँ, रसुवाको भोटेकोशी बाढीले बगाएर धादिङ पुर्याएको सेफ तोडफोड गरी त्यसमा रहेको रकम निकालेर लगेको आरोपमा प्रहरीले २९ जनालाई नियन्त्रणमा लिएको छ ।
भदौ १० गते आएको बाढीले बगाएको उक्त सेफ धादिङको गल्छी गाउँपालिका–४ बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा भेटिएको थियो । सेफभित्र रकम रहेको र स्थानीयले तोडफोड गरी आफूखुसी निकालेर लगेको सूचना भदौ १२ गते पाएपछि जिल्ला प्रहरी कार्यालय धादिङले अनुसन्धान अघि बढाएको हो ।
प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा २९ जनालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ नगद बरामद गरेको जनाएको छ ।
नियन्त्रणमा लिइएकामध्ये अधिकांश गल्छी गाउँपालिका–४ मासटारका स्थानीय छन् । उनीहरूबाहेक गल्छी–६ आदमघाट, सिद्धलेक–७ आदमटार तथा चितवन र पर्सा घर भई धादिङमा बस्दै आएका व्यक्तिसमेत रहेका छन् ।
प्रहरीका अनुसार बरामद रकमको वास्तविक स्रोत, सेफमा रहेको कुल रकम तथा घटनामा थप व्यक्तिको संलग्नताबारे अनुसन्धान भइरहेको छ ।
प्रहरीले नियन्त्रणमा लिएका २९ जनाको नाम र विवरणसमेत सार्वजनिक गरेको छ । उनीहरू १९ देखि ४९ वर्ष उमेर समूहका छन् ।
बाढीले बगाएर ल्याएको सेफ भेटिएपछि त्यसलाई तोडफोड गरी रकम निकालिएको घटनाले स्थानीयस्तरमा समेत चासो बढाएको छ । प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको खोजी तथा बरामद रकमको थप अनुसन्धान जारी राखेको जनाएको छ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।