काठमाडौं, लगातारको वर्षासँगै आएको बाढी र पहिरोले देशभरका प्रमुख सडक तथा राजमार्ग प्रभावित भएका छन् । नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार काठमाडौँ जोड्ने मुख्य सडकदेखि कोशी र बागमती प्रदेशका विभिन्न सडकखण्डमा सवारी आवागमन पूर्ण वा आंशिक रूपमा प्रभावित भएको छ ।
काठमाडौँ भित्रिने र बाहिरिने प्रमुख मार्ग नागढुंगा–मुग्लिन सडकखण्ड बाढीको जोखिमका कारण पूर्ण रूपमा बन्द गरिएको छ । भाद्र १० गते बिहान १० बजेदेखि नै यो सडकमा सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ ।
बागमती प्रदेशका विभिन्न सडकखण्डमा पनि जोखिम कायमै छ । बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी चलाउन पूर्ण रोक लगाइएको छ । दिउँसो भने सडकको अवस्था हेरेर मात्रै सवारी सञ्चालन गर्न दिइनेछ ।
यस्तै, कान्ति लोकपथअन्तर्गत हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर सडकखण्डमा राति ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।
त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्डअन्तर्गत उत्तरगया–५ खाल्टेमा आएको बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ । नुवाकोटतर्फको टोखा–छहरे सडकखण्डमा पनि रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ भने जिल्लाका अन्य केही मुख्य सडकसमेत बाढीका कारण प्रभावित भएका छन् ।
यता, इलामको मेची राजमार्गअन्तर्गत राजदुवाली क्षेत्रमा अविरल वर्षाका कारण सडक पूर्ण रूपमा बन्द भएको छ । तर, झापाबाट ताप्लेजुङ जाने यात्रुका लागि वैकल्पिक सडक भने उपलब्ध रहेको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध र जोखिमपूर्ण अवस्थामा रहेकाले प्रहरीले यात्रामा निस्कनुअघि सम्बन्धित सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ । साथै, प्रतिकूल मौसममा अनावश्यक यात्रा नगर्न र यात्रा गर्नैपर्ने अवस्थामा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।