काठमाडौँ, मनसुनी वर्षासँगै देशका विभिन्न क्षेत्रमा भएका विपद्का घटनामा पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । ५ जना अझै बेपत्ता छन् भने ४३ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ४३ जिल्लामा ५२ वटा विपद्का घटना भएका छन् । ती घटनाबाट ५ वटा चौपायाको क्षति भएको छ भने १२ स्थानमा सडक यातायात पूर्ण रूपमा प्रभावित भएको छ । भौतिक क्षति करिब ६ लाख ४७ हजार रुपैयाँ बराबर रहेको प्राधिकरणले जनाएको छ ।
विपद् प्रभावित क्षेत्रमा उद्धार तथा प्रतिकार्यका लागि २ सय ६१ जना प्रहरी परिचालन गरिएको छ । उनीहरूले २ जनाको सकुशल उद्धार गरेका छन् । पछिल्लो विवरण अनुसार मृत्यु हुनेमध्ये १० जनाको ज्यान पहिरोमा परेर गएको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान ८ः४५ बजेसम्म ४ सय १४ वर्षामापन केन्द्रमध्ये ३ सय ४५ केन्द्रमा वर्षा मापन भएको थियो । स्याङ्जाको पञ्चमुलमा २४ घण्टामा सबैभन्दा बढी १५२.९ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।
यसैबीच, चालु आर्थिक वर्ष २०८३८४ को वैशाख १ देखि साउन २९ गतेसम्म देशभर ४ हजार ६ सय ५९ वटा विपद्का घटना दर्ता भएका छन् । ती घटनामा २ सय २९ जनाको मृत्यु भएको छ भने ९ जना अझै बेपत्ता छन् ।
उक्त अवधिमा १ हजार ४ सय ६३ जना घाइते भएका छन् भने ५ हजार ७ सय ९ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । प्राधिकरणको तथ्याङ्कमा समीक्षा अवधिमा सर्पदंश र पहिरोबाट सबैभन्दा बढी मानवीय क्षति भएको उल्लेख छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।