बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेपाली सेनामा २८० अधिकृत क्याडेट माग, कक्षा १२ उत्तीर्णले आवेदन दिन पाउने

नेपाली सेनामा २८० अधिकृत क्याडेट माग, कक्षा १२ उत्तीर्णले आवेदन दिन पाउने

मेगा खबर संवाददाता

२९, श्रावण २०८३
  • 508
    SHARES

  • नेपाली सेनामा २८० अधिकृत क्याडेट माग, कक्षा १२ उत्तीर्णले आवेदन दिन पाउने

    काठमाडौं, नेपाली सेनाले अधिकृत क्याडेट (सहायक सेनानीउपसेनानी) पदमा २८० जनाका लागि दरखास्त आह्वान गरेको छ।

    जङ्गी अड्डास्थित भर्ना छनौट निर्देशनालयले खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी उक्त पदमा विज्ञापन खुलाएको हो। योग्य नेपाली नागरिकले सेनाको आधिकारिक वेबसाइटमार्फत अनलाइन फाराम भरी तोकिएको भर्ना केन्द्रमा उपस्थित भएर आवेदन बुझाउनुपर्नेछ ।

    इच्छुक उम्मेदवारले आगामी असोज २७ गतेसम्म नियमित दस्तुरमा आवेदन दिन सक्नेछ न्। उक्त अवधिमा आवेदन दिन छुटेकाले असोज २८ गतेदेखि कात्तिक ४ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन पाउनेछन् ।

    कुल २८० पदमध्ये खुलातर्फ १४६ सिट छुट्याइएको छ । समावेशीतर्फ आदिवासी जनजातिका लागि ३९, मधेसीका लागि ३३, महिलाका लागि २४, दलितका लागि १८ र पिछडिएको क्षेत्रका लागि ६ सिट निर्धारण गरिएको छ। सैनिक तालिम वा कर्तव्य पालनाका क्रममा मृत्यु भएका वा शारीरिक रूपमा अशक्त नेपाली सैनिकका सन्ततिका लागि १४ सिट सुरक्षित गरिएको छ ।

    दरखास्त दिन न्यूनतम प्रमाणपत्र तह अर्थात् कक्षा १२ वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ। स्नातक तह वा सोसरह उत्तीर्ण उम्मेदवारले पनि आवेदन दिन सक्नेछन् ।

    उमेरको हकमा प्रमाणपत्र तह उत्तीर्ण उम्मेदवारले आवेदनको अन्तिम मिति असोज २७ गतेसम्म १८ वर्ष पूरा भई २१ वर्ष ननाघेको हुनुपर्नेछ । स्नातक तह उत्तीर्ण उम्मेदवारको उमेर १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्नेछ । बहालवाला सैनिकका लागि भने २६ वर्षसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

    शारीरिक योग्यताअन्तर्गत पुरुष उम्मेदवारको न्यूनतम उचाइ ५ फिट ३ इन्च र महिलाको ५ फिट हुनुपर्नेछ ।

    सेनाले आवेदन प्रक्रियालाई अनलाइन प्रणालीमा आधारित बनाएको छ । उम्मेदवारले सुरुमा सेनाको वेबसाइटमार्फत अनलाइन फाराम भर्नुपर्नेछ। त्यसपछि फारामको प्रिन्ट कपी र आवश्यक सक्कल प्रमाणपत्रसहित आफूले छनोट गरेको भर्ना केन्द्रमा स्वयं उपस्थित भएर आवेदन बुझाउनुपर्नेछ ।

    अनलाइन फाराम मात्र भरेर आवेदन प्रक्रिया पूरा नहुने सेनाले स्पष्ट पारेको छ । अनलाइनबाट फाराम सब्मिट गरेपछि त्यसको प्रिन्टसहितको फाराम भर्ना केन्द्रमा नबुझाएमा त्यस्तो आवेदन मान्य नहुने सेनाले जनाएको छ ।

    आवेदन दस्तुर खुलातर्फ एक हजार रुपैयाँ तोकिएको छ । समावेशी समूहमा समेत आवेदन दिने उम्मेदवारले प्रत्येक थप समूहका लागि २० प्रतिशत अर्थात् २०० रुपैयाँका दरले अतिरिक्त दस्तुर बुझाउनुपर्नेछ ।

    सेनाले काठमाडौं, इटहरी, बर्दिबास, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र कैलाली गरी आठ स्थानमा भर्ना छनौट केन्द्र तोकेको छ ।

     

     

    शुक्रवार, श्रावण २९ २०८३११:४८:२९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार