काठमाडौं, सरकारले नेपाली सेनासहित निजामती कर्मचारी,नेपाल प्रहरी र शिक्षकहरूको संशोधित तलबमान सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को निर्णय अनुसार अर्थ मन्त्रालयले साउन १ गतेदेखि लागू हुने गरी नेपाली सेनाका सबै दर्जाका सैनिकको तलब र सुविधा परिमार्जन गरेको हो ।
नयाँ तलब संरचना अनुसार प्रधान सेनापतिको मासिक तलब ९० हजार ५९४ रुपैयाँ कायम गरिएको छ । यसअघि ८४ हजार ९३२ रुपैयाँ रहेको आधार तलबमा दुई ग्रेड थप भएपछि उक्त रकम कायम भएको हो । त्यस्तै,रथीको तलब ८७ हजार ८५ रुपैयाँ, उपरथीको ८४ हजार ५७६ रुपैयाँ तथा सहायक रथीको ७८ हजार २२० रुपैयाँ पुगेको छ ।
अधिकारी तहमा महासेनानीले ७२ हजार ८७६ रुपैयाँ, प्रमुख सेनानीले ६९ हजार ९ रुपैयाँ, सेनानीले ६७ हजार ९०७ रुपैयाँ, सह–सेनानीले ६२ हजार ३१५ रुपैयाँ,उप–सेनानीले ५९ हजार ५३७ रुपैयाँ र सहायक सेनानीले ४८ हजार ५८ रुपैयाँ मासिक तलब पाउनेछन् ।
जुनियर कमिसन्ड अफिसर (जेसीओ) समूह अन्तर्गत प्रमुख सुवेदारको तलब ४९ हजार ६०७ रुपैयाँ, सुवेदारको ४७ हजार ११४ रुपैयाँ र जमदारको ४३ हजार ३७२ रुपैयाँ निर्धारण गरिएको छ । हुद्दा,अमलदार र प्यूठको मासिक तलब क्रमशः ३७ हजार ६४८ रुपैयाँ,३७ हजार ४५७ रुपैयाँ र ३७ हजार ११३ रुपैयाँ कायम गरिएको छ ।
आधारभूत तहका सिपाहीले अब मासिक ३६ हजार ३३८ रुपैयाँ तलब पाउनेछन् भने रिक्रुटको तलब २७ हजार १७२ रुपैयाँ तोकिएको छ । विभिन्न श्रेणीका फलोअर्सको तलब भने जिम्मेवारी र दर्जाअनुसार करिब २८ हजारदेखि ४० हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।
विमान सम्भार समूहका प्राविधिक सैनिकहरूको तलब पनि सोही अनुपातमा वृद्धि गरिएको छ । यस समूहमा पाइलट उपरथीको मासिक तलब ९० हजार ५०९ रुपैयाँ पुगेको छ ।
सरकारले संशोधित तलबमानसँगै ग्रेड रकम तथा वृद्धिपश्चात् कायम हुने तलबको १० प्रतिशत मासिक प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।




मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।