काठमाडौँ, लगातारको वर्षासँगै मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो, ढुङ्गा र लेदो खस्दा यातायात प्रभावित बनेको छ । सडकका विभिन्न स्थानमा अवरोध सिर्जना भएपछि हाल सवारी साधन एकतर्फी रूपमा सञ्चालन भइरहेका छन् ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सोमबार बिहान तुईन खोला पुल, नाम्सि खोलाको नयाँ पुल तथा सिमलताल क्षेत्रमा माथिबाट ढुङ्गा र लेदो खसेपछि सडक पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन । तुईन खोला र नाम्सि खोलाको नयाँ पुल आसपास ढुङ्गा झरेको छ भने सिमलताल क्षेत्रमा लेदो सडकमा थुप्रिएपछि सवारी आवागमन प्रभावित बनेको हो ।
अवरुद्ध सडकलाई यथाशीघ्र पूर्ण रूपमा सञ्चालनमा ल्याउन डिभिजनले हेभी इक्विपमेन्ट परिचालन गरी पहिरो र लेदो हटाउने काम तीव्र गतिमा अघि बढाएको जनाएको छ। थप अवरोध नआएमा सडकलाई छिट्टै दुईतर्फी सञ्चालनमा ल्याउने तयारी भइरहेको कार्यालयले जनाएको छ ।
यसैबीच, प्रभावित क्षेत्रमा अझै वर्षा भइरहेकाले थप पहिरो खस्ने सम्भावना रहेको भन्दै सडक डिभिजनले यात्रु तथा सवारी चालकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। यात्रा सुरु गर्नु अघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्नसमेत अनुरोध गरिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।