काठमाडौँ, हिन्दु धर्मावलम्बीको पवित्र महिना साउनको पहिलो सोमबार आज देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको उल्लेखनीय भीड लागेको छ । विशेषगरी पशुपतिनाथ मन्दिरमा दर्शन, पूजा–आराधना र जलाभिषेक गर्न श्रद्धालुहरू बिहानैदेखि लामबद्ध भएका छन् ।
भगवान् शिवलाई अत्यन्त प्रिय मानिने साउन महिनाको प्रत्येक सोमबार विशेष धार्मिक महत्त्व राख्ने विश्वास छ। यस अवसरमा भक्तजनले व्रत बस्ने, शिवलिङ्गमा जल तथा दूध चढाउने, रुद्राभिषेक गर्ने, जप–तप तथा दान–पुण्य गर्ने परम्परा रहिआएको छ ।
धार्मिक मान्यता अनुसार साउनको सोमबार श्रद्धा र भक्तिभावका साथ शिवको आराधना गर्दा मनोकामना पूरा हुने, पापबाट मुक्ति मिल्ने, मानसिक शान्ति प्राप्त हुने तथा परिवारमा सुख, शान्ति र समृद्धि आउने विश्वास गरिन्छ । धर्मशास्त्रले साउन महिनालाई तप, जप, व्रत, दान र शिवभक्तिका लागि विशेष पुण्यमय समयका रूपमा वर्णन गरेको छ ।
साउन महिनाको महत्त्व समुद्रमन्थनको पौराणिक कथासँग पनि जोडिएको छ। पुराण अनुसार देवता र दानवहरूले अमृत प्राप्तिका लागि समुद्रमन्थन गर्दा सबैभन्दा पहिले कालकूट (हालाहल) विष निस्किएको थियो । उक्त विषका कारण सम्पूर्ण सृष्टि सङ्कटमा परेपछि भगवान् शिवले लोककल्याणका लागि विष पान गर्नुभएको विश्वास गरिन्छ । विषको प्रभाव कम गर्न देवताहरूले शिवलाई निरन्तर जल अर्पण गरेका थिए । यही घटनाको स्मरणस्वरूप साउनभर शिवलिङ्गमा जलाभिषेक गर्ने परम्परा चलिआएको धार्मिक विश्वास छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।