काठमाडौँ,राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को पूर्वतयारीलाई प्रभावकारी बनाउन आवश्यक परे निजी क्षेत्रबाट हेलिकप्टर, ड्रोन र राफ्ट उपलब्ध गराई खोज तथा उद्धार अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले २१ जिल्लामा भारीदेखि अतिभारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने पूर्वानुमान गरेपछि प्राधिकरणले सुरक्षा निकायसँग समन्वय गर्दै उद्धार तयारीलाई थप सुदृढ बनाएको हो ।
प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाका अनुसार सम्भावित विपद्को अवस्थामा तत्काल उद्धारका लागि काठमाडौँ, इटहरी, भैरहवा र सुर्खेतमा नेपाली सेनाका चारवटा हेलिकप्टर तयारी अवस्थामा राखिएका छन् । आवश्यकता अनुसार निजी क्षेत्रसँग भएको पूर्वसम्झौता अनुसार हेलिकप्टर, ड्रोन र राफ्ट पनि परिचालन गरिने उनले बताए ।
गत साता प्राधिकरणले वायुसेवा सञ्चालक सङ्घ, नेपाल, नेपाल ड्रोन सङ्घ र नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) सँग छुट्टाछुट्टै समझदारीपत्रमा हस्ताक्षर गरेको थियो ।
समझदारी अनुसार वायुसेवा सञ्चालक सङ्घले काठमाडौँ उपत्यकाभित्र आवश्यक उडान निःशुल्क उपलब्ध गराउने तथा उपत्यकाबाहिर न्यूनतम सञ्चालन खर्चमा सेवा दिनेछ । नेपाल ड्रोन सङ्घले विपद्का बेला पाइलटसहित आवश्यक ड्रोन र उपकरण निःशुल्क उपलब्ध गराउनेछ भने प्राधिकरणले खटिने जनशक्तिको यात्रा र बसोबासको व्यवस्था गर्नेछ ।
त्यसैगरी, नाराले बाढी, डुबान तथा नदीजन्य विपद्का समयमा खोज तथा उद्धार, राहत सामग्री, औषधि र उद्धार टोलीको ढुवानीका लागि आवश्यक राफ्ट, उपकरण र जनशक्ति निःशुल्क उपलब्ध गराउने सहमति भएको छ ।
यी सबै समझदारी एक वर्षका लागि लागू रहनेछन् र आपसी सहमतिमा नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।