काठमाडौँ, नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव सक्रिय छ भने देशका अन्य भू-भागमा पश्चिमी तथा स्थानीय वायुको असर रहेको छ । कोशी प्रदेशसहित देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बदली भएको छ। मधेस र बागमती प्रदेशको तराई क्षेत्रमा आंशिक बादल लागेको छ भने लुम्बिनी र कर्णाली प्रदेशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। यतिबेला कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
सोमबार दिउँसो र राति देशका हिमाली र पहाडी क्षेत्रका साथै कोशी प्रदेशको तराई भू-भागमा साधारणतया बादल लाग्नेछ। मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने देखिन्छ ।
कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भेगका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपात हुनसक्ने अनुमान गरिएको छ। तराई क्षेत्रतर्फ कोशी प्रदेशका थोरै स्थान र मधेस प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
यता पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना रहँदा तराई क्षेत्रमा भने गर्मीले जनजीवन प्रभावित बन्ने देखिन्छ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।