काठमाडाै, बिहानको ४ बजेको समयमा अधिकांश मानिस गहिरो निद्रामा हुन्छन् । तर पोखरा महानगरपालिका–२६, जलधाराका कृष्ण थापाको दिन भने त्यतिबेलै सुरु भइसकेको हुन्छ । केहीबेरमै उनी पत्रिकाको भारी बोकेर पोखराका सडकतर्फ लाग्छन्। नयाँबजार, चिप्लेढुंगा, पृथ्वीचोक, सिर्जनाचोक, लेकसाइडदेखि बिरौटासम्मका सडक उनका लागि केवल यात्रा गर्ने बाटा मात्र होइनन्, जीवनसँगको निरन्तर संघर्षका साक्षी पनि हुन् ।
३२ वर्षीय कृष्ण जन्मजात रूपमा सुन्न र बोल्न सक्दैनन् । शारीरिक रूपमा पनि फरक क्षमता भएका उनको बाल्यकाल सहज थिएन। सात वर्षको उमेरसम्म राम्रोसँग खाना खानसमेत कठिन हुने अवस्था थियो । अरूसँग खुलेर संवाद गर्न नसक्नुको पीडा पनि उत्तिकै थियो । तर उनले आफ्नो अवस्थालाई कहिल्यै कमजोरी बन्न दिएनन् ।
२० वर्षको उमेरमा घरमै बसिरहनुभन्दा केही गरेर आत्मनिर्भर बन्ने अठोटसहित उनले पत्रिका बेच्न सुरु गरे । सुरुआती दिन निकै कठिन थिए। दिनभर घामपानी नभनी हिँड्दा पनि पत्रिका बिक्दैनथे। कहिलेकाहीँ घाटासमेत बेहोर्नुपर्थ्यो । तर परिवारको साथ र हौसलाले उनलाई कहिल्यै निराश हुन दिएन ।
समयसँगै उनको मेहनतले सबैको मन जित्न थाल्यो । पसले, व्यवसायी, होटल सञ्चालकदेखि सर्वसाधारणसम्मले उनलाई चिन्न थाले। हातको इसाराले बोलाएर पत्रिका किन्ने ग्राहकहरू बढ्दै गए । सुरुमा २५ वटा पत्रिका बेच्न संघर्ष गर्ने कृष्णले अहिले दैनिक २ सयभन्दा बढी पत्रिका बिक्री गर्ने गरेका छन् ।
बगाले टोलस्थित बहिरा विद्यालयबाट सामान्य शिक्षा हासिल गरेका कृष्ण मोबाइल चलाउन, हिसाबकिताब गर्न तथा सामाजिक सञ्जाल प्रयोग गर्न सक्षम छन् । ग्राहकसँग उनी सांकेतिक भाषा, मोबाइलमा टाइप गरेर वा कापीमा लेखेर संवाद गर्छन् । अहिले त धेरै ग्राहकले उनीसँग इसारामै कुरा गर्न सिकिसकेका छन् ।
हरेक दिन बिहान ६ बज्नुअघि नै घरबाट निस्कने कृष्ण नयाँबजारस्थित ‘समाधान राष्ट्रिय दैनिक’बाट पत्रिका लिएर आफ्नो नियमित यात्रामा निस्कन्छन्। महिनामा १० देखि १२ हजार रुपैयाँसम्म आम्दानी गर्ने उनी त्यही कमाइबाट घरखर्चमा सहयोग गर्नुका साथै केही रकम बचत पनि गर्छन् ।
केही समयअघि सार्वजनिक यातायातमा उनीमाथि भएको दुर्व्यवहारले धेरैको ध्यान खिच्यो । फरक क्षमता भएकै कारण एउटा माइक्रोबसले नरोकेपछि उनले सांकेतिक भाषामार्फत आफ्नो पीडा सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । त्यसपछि धेरैले उनको पक्षमा आवाज उठाए र सम्बन्धित चालकमाथि कारबाहीसमेत भयो ।
परिवार नै उनको सबैभन्दा ठूलो शक्ति हो। भाउजू लक्ष्मी थापाले उनको भावना र आवश्यकता बुझ्न सांकेतिक भाषासमेत सिकेकी छन् । घरमा कुनै कार्यक्रम परे कृष्ण आफैं केक र कपडा किनेर ल्याउँछन् । दाइका छोराछोरीप्रतिको उनको माया पनि विशेष छ ।
पोखराका व्यवसायी सञ्जीव बराल विगत एक दशकदेखि उनका ग्राहक र साथी हुन् । उनी भन्छन्, “कृष्णलाई देख्दा मेहनत र इच्छाशक्तिभन्दा ठूलो कुनै शक्ति हुँदैन भन्ने महसुस हुन्छ ।”
आज पोखराका सडक र गल्लीमा पत्रिका बेच्दै हिँड्ने कृष्ण थापा केवल एक पत्रिका बिक्रेता मात्र होइनन्, उनी संघर्ष, आत्मसम्मान, परिश्रम र आत्मनिर्भरताका जीवित उदाहरण हुन् ।
भविष्यमा किराना पसल सञ्चालन गर्ने र पशुपालन गर्ने सपना बोकेका कृष्णका लागि हरेक बिहान नयाँ अवसर लिएर आउँछ। उनको जीवनले एउटा सन्देश दिन्छ— सीमितता शरीरमा हुन सक्छ, तर सपनामा हुँदैन ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।