बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

रङ्गकर्मीको जीवनः नाटकमा मन, जीवन धान्न जागिर

रङ्गकर्मीको जीवनः नाटकमा मन, जीवन धान्न जागिर

मेगा खबर संवाददाता

१४, आश्विन २०७७
  • 3.9K
    SHARES

  • रङ्गकर्मीको जीवनः नाटकमा मन, जीवन धान्न जागिर

    फाईल तस्बिर

    इलाम । जीवन सोचेजस्तो कहाँ हुन्छ र ? हुन्थ्यो भने मान्छे दुःखी र विपन्न पनि त हुँदैनथे । मनमा चाह हुदाँहुँदै जीवन चलाउन अनेक गर्नुपर्छ । मनमा लागेर मात्रै भएन जीवन धान्न चाहेभन्दा फरक वा कम चाहना भएको कर्म पनि गर्नुपर्छ ।

    इलाम नगरपालिका–७ का सुरेश पोर्तेललाई अचेल यस्तै लाग्छ । सानै उमेरमा नाटकमा भिजेका सुरेशको मन अझै पनि त्यतै तानिन्छ । सडक नाटक र नाटकमा पात्र बनेर कल्पनामा रमाउँदाको मजै बेग्लै थियो तर रहरले मात्र कहाँ भयो र जीवन चलाउन त आदर्शभन्दा यथार्थ चाहिन्छ । यसैले अहिले सुरेश फाट्टफुट्ट मात्रै पर्दामा देखिन्छन् ।

    मन त सुरेशको ठूलै रङ्गकर्मी बन्ने र सबैतिर चिनिने नै थियो र छ पनि तर नाटकले जीवन धान्न गाह्रो भएपछि अरूतिर समय दिएर नाटकमा विरलै देखिन्छन् सुरेश । नाटक खेल्ने मात्र होइन, कथा लेख्ने, पटकथा बनाउने र निर्देशन गर्ने तागत छ सुरेशमा । अहिलेसम्म करिब २०० नाटक खेलेका सुरेशले ५० जति त निर्देशन नै गरे । जीवन नै रङ्गमञ्च र रङ्गमञ्च नै जीवन देख्ने सुरेशले लेखेका र खेलेका केही  नाटकले त राष्ट्रियस्तरमै राम्रै छाप छोडे । 

    ‘डेब्यु’ नाटक नै हाइहाइ बन्दा

    सुरेशले १७ वर्षमा नाटकमा अभिनय गरे पनि नाटक खेल्ने इच्छा भने सानैदेखिको हो । बालापनमै अरूले अभिनय गरेको देखेर अभिनय गर्ने भूत चढेको थियो । आफ्नो रुचिको विषय त हो । आखिर छेक्न कसले पो सक्छ र ? सुरेश पनि नाटकमै पुगे र नाटक खेल्ने सपना पूरा गरेरै छाडे ।

    सामाजिक नाटक ‘कथा मानवीरेको’ मञ्चन तयारीमा थियो । सुरेश त्यही नाटकबाट ‘डेब्यु’ गर्ने तरखरमा थिए । नाटक त बल्लतल्ल खेले तर प्रतिक्रिया कस्तो आउने टुङ्गो भएन तर नाटकको टिम नाटक सकेर बाहिर मात्र निस्किएको थियो । दर्शकले खुबै रुचाएको बुझियो ।

    यही उत्प्रेरणाले सुरेशमा रङ्गमञ्चमा रहने रहर अझै प्रगाढ भयो । यही नाटक जिल्लाका विभिन्न क्षेत्रमा मञ्चन हुन पुग्यो । त्यही नाटकबाट अरू नाटकमा समेत खेल्ने उनलाई अवसर मिल्यो  । चार वर्षदेखि मानवअधिकार मञ्च नेपाल इलामको चेतना नाट्य समूह संस्थाको नेतृत्व सुरेशले लिइरहेका छन् ।

    नाटकको शीर्षकबाट छोराको नाम

    तीन वर्षअघि सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमल काठमाडौँबाट नाटक मञ्चन गर्ने नाट्य समूहलाई पत्र काट्यो । त्यत्तिकैमा नाट्य समूहले पनि नाटक पठाउने निधो गर्यो । यत्तिकैमा डा. देवी क्षेत्री दुलालले लेखेको ‘म पहिलो सन्तान किसान जन्माउँछु शीर्षकको नाटक सोही संस्थामा पठाइयो । नभन्दै नाटक प्रदेशकै उत्कृष्टमध्येमा पर्दै मञ्चन गर्ने बाटो खुल्यो ।

    सुरेशकै निर्देशनमा प्रदेश नंं १ मा मात्र होइन, सोही नाटक कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि मञ्चन भयो । “नाटकको शीर्षकनै किसानसम्बन्धी थियो । यता मेरो पनि बच्चा जन्मिने थियो”, सुरेशले हाँस्दै भने, “फागुनमा नाटक खेलियो । चैतमा छोरो जन्मियो । सबैले भनेपछि छोराको नाम नै किसान रह्यो ।”

    यति मात्र होइन, सुरेशसँग नाटकका स्मरणीय क्षण पनि छन् । नाटक खेल्दै दर्शकको मन जितेर कति दिन त नाटकमै खेलेरै बित्यो । नाटकमै जीवन खोज्दै सुरेशसहितको टिमले कुनै बेला महिनामा एउटा नाटक मञ्चन गर्नेसमेत कार्यक्रम अघि बढायो । सामाजिक विषयवस्तुमाथि नाटक देखाएर सकारात्मक भावना देखाउनका लागि उनीहरुले अभियानै चलाएका थिए ।

    नाटकबाट बाँच्न गाह्रो हुने देखेपछि कतिले क्षेत्रै त्याग गरे भने कतिले निरन्तरता दिन नसक्दा टिम जुट्न गाह्रो भयो । “नाटकबाटै जीवन धान्नचाहिँ हाम्रो ठाउँमा गाह्रो छ”, सुरेशले भने, “हामीलाई सिकाउने गुरुहरु पनि पलायन भएको देखेर हामी पनि अन्यत्र लाग्यौँ । त्यसैले फाट्टफुट्ट मात्र नाटकमा देखिन बाध्य छौँ ।”

    जीवन धान्न जागिर

    एक किसिमले सुरेशलाई भाग्यमानी ठान्नुपर्छ । नाटकले देखाएको ठाउँबाटै उनले जागिर पाए । उच्च शिक्षा हासिल गर्दैदेखि उनी मानवअधिकार मञ्च नेपालसँग नजिक थिए । त्यत्तिकैमा मञ्चले सुरेशलाई जागिर पनि दियो । सुरेशको मन नाटकतिर थियो तर जीवन धान्न जागिर खानुपर्ने भयो ।

    “घरको एउटा छोरो बाहिर नाटक सिक्न जान पनि सकिनँ”, सुरेशले भने, “राजधानीबाटै पनि नाटकका लागि ‘अफर’ त आउँथ्यो तर घरायसी समस्याले जान सकिएन ।” पहिले मञ्चमा आबद्ध भएर जागिर र नाटक शुरु गरेका सुरेश केही समय जागिरकै लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मा पनि आबद्ध भएका थिए । अहिले सुरेश मञ्चमै जागिरमा छन् । नाटकको भोक अझै नहटेकाले जागिरका साथै अझै पनि नाटकमै रहिरहेका छन् ।

    सत्ताइस वर्षमा उक्लिँदै गरेका सुरेश यति हुँदाहुँदै पनि नाटकमा जीवन छैन भन्नचाहिँ सक्दैनन् । नाटकका लागि पूर्वाधार अभाव भएकाले नाटक मञ्चन गाह्रो भएको सुरेशको दुखेसो छ । भौतिक संरचना भएकामा नाटकबाटै अभिनय मात्र होइन, रोजगारी पनि पाउन सक्ने सु्रेशको जिकिर छ । “एउटा नाट्य घर मात्र भए पनि नाटकबाट धेरै जना बाँच्न सकिन्छ”, सुरेशले भने, “सरकारी क्षेत्रबाट यसका लागि प्रयत्न भए, धेरै सहज हुन्थ्यो ।”

    बुधवार, आश्विन १४ २०७७०९:५७:३६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार