बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

उचित संरक्षणको पर्खाइमा ऐतिहासिक मकवानपुरगढी 

उचित संरक्षणको पर्खाइमा ऐतिहासिक मकवानपुरगढी 

शान्ता आचार्य

२८, मंसिर २०८०
  • 2.1K
    SHARES

  • उचित संरक्षणको पर्खाइमा ऐतिहासिक मकवानपुरगढी 

     हेटौडा, मकवानपुर जिल्लामा रहेको मकवानपुरगढी करिब ५०० वर्ष पुरानो इतिहास बोकेको नेपालको सबैभन्दा ठूलो  ऐतिहासिक गढी हो । हेटौडाबाट लगभग १७ कि मि को दुरीमा रहेको यो गढीले ऐतिहासिक महत्व बोकेको छ । हेटौडाबाट चुच्चेढुङ्गाहुँदै उकालो लागेपछि मकवानपुरगढी पुगिन्छ । अति सुन्दर, रमणीय, मन लोभ्याउने र पुरानो इतिहास बोकेको यस गढि राजा पृथ्वी नारायण शाहको ससुराली रहेको पनि इतिहास पाइन्छ । 

    पाल्पाको शासक प्रताप राजा मुकुन्द सेनले राज्य ४ भागमा विभाजन गरी बाँडफाँड गर्दा यो गढी कान्छो छोरा लोहाङ सेनको भागमा परेको थियो । सेन वशंका १० पुस्तासम्मले राज्य गर्दा यस गढीको अन्तिम राजा भने दिग्बन्धन सेन थिए । सेन वशंका राजाहरुको अन्त्य मकवानपुर गढीबाट नै भएको थियो ।

    नेपाल एकिकरण गर्ने क्रममा राजा पृथ्वी नारायण शाहले सन १८१९ भाद्र ३ गते मकवानपुरगढीमा रहि मकवानपुर राज्यमा आक्रमण गरेर सेन राजालाई पराजय गरी मकवानपुरगढी कब्जा गरेका थिए । आफू पराजय भएपछि पृथ्वी नारायण शाहसँग फेरी युद्ध लड्नका लागी सेन राजाले बंगालका नवाब मिर कासिमसँग समन्वय गरेर १८१९ माघ ९ र १० गतेका दिन करिब ३००० बंगाली फौज लिएर गोर्खाली सेनाको नियन्त्रणमा रहेको मकवानपुरगढीमा फेरी आक्रमण गरेका थिए । करिब १० घण्टाको लडाइ पश्चात गोर्खाली सेनाले वीरता र बुद्धिमतापूर्ण बंगाली फौजमाथि विजय हासिल गरेपछि माघ १० गते गोर्खाली सेनाले विजय उत्सव मनाएका थिए । यहि सम्झनामा हरेक बर्ष माघ १० गते नेपाली सेनाको उपस्थितिमा मकवानपुरगढीमा विजय उत्सव मनाउने चलन छ । 

    मकवानपुरगढी एक अत्यन्त लामो इतिहास बोकेको ऐतिहासिक स्थल हो । यस गढीको उत्तरी भागमा प्रवेशद्वार रहेको छ, जुन गढीमा प्रवेश गर्ने एकमात्र प्रवेशद्वार हो । गढीमा प्रवेश गर्न एउटा काठको साँघु राखिएको छ । यस गढीको प्रवेशद्वारले चीनको महान पर्खालको झलक देखाउँछ । दुस्मनले सजिलै आक्रमण गर्न नसकोस् भनेर वरीपरी गहिरो खाडल खनेर खल बनाइएको छ । शत्रु पसिहाल्यो भने भाग्नको लागी गढी भित्रबाट एउटा सङ्कटकालिनद्वार बनाइएको देखिन्छ । प्रवेशद्वारभित्र वंशगोपालको मन्दिर रहेको छ जुन राजा सेनहरूको इष्टदेवताको मन्दिरको रूपमा लिने गरेको पाइन्छ । गढीभित्र विभिन्न प्रयोजनको लागी कोठाहरु बनाइएको छ । कोठाका पर्खालहरू कलात्मक बुट्टा कुदिएका ढुङ्गाबाट माटोको जडान गरी ३ फिट मोटाइको मजबुत तबरले बनाएको देखिन्छ जुन सुरक्षाको दृष्टिकोणले बनाइएको अनुमान गर्न सकिन्छ । ती हरेक कोठाहरुमा कलात्मक ढुङ्गाका आखिझ्यालहरु राखिएका छन् । यसरी बनाइएको गढी र बिचमा रहेको दरबारका किल्लाहरु हाल भग्नावशेष अवस्थामा छन् । 

    नेपाल सरकारले यस गढीलाई एकिकरण निर्माणाधिन पार्कको रूपमा २०६८ माघ १० गतेका दिन उद्घाटन गरी संचालनमा ल्याएपनि यसको उचित संरक्षण तथा व्यवस्थापन हुन सकेको छैन । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्रालयले यस गढीलाई देशका १०० पर्यटकिय गन्तव्यको सुचिमा समावेश गरेको छ भने हेटौडा नगरपालिकाले संग्रालय निर्माण गर्ने योजना बनाएको छ । यसको व्यवस्थापनमा ध्यान दिएको खण्डमा आन्तरिक तथा बाह्रय पर्यटकको रोजाइको केन्द्र बन्न सक्ने देखिन्छ । नेपाल एकिकरणमा महत्वपूर्ण योगदान पुर्याएको यस मकवानपुर गढीलाई उचित संरक्षण र विकासको लागी सम्बन्धित निकाय ध्यान दिनुपर्ने देखिन्छ ।

     

    बिहिवार, मंसिर २८ २०८००८:१४:०९
    सम्बन्धित समाचार