शनिवार, कार्तिक २२ २०८३Nov 07 2026

  • TRENDING NOW :

मर्मतपछि पनि बेनी–जोमसोम सडकमा सिधा सवारी सञ्चालन भएन

मर्मतपछि पनि बेनी–जोमसोम सडकमा सिधा सवारी सञ्चालन भएन

मेगा खबर संवाददाता

११, आश्विन २०७७
  • 1.6K
    SHARES

  • मर्मतपछि पनि बेनी–जोमसोम सडकमा सिधा सवारी सञ्चालन भएन

    गलेश्वर । कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम कोरला सडकको रुप्से खण्डमा सडक मर्मत गरे पनि हिमालपारिको जिल्ला मुस्ताङसम्म सिधा सवारी साधन सञ्चालन हुन सकेको छैन ।

    गत भदौ ३१ गते राति रुप्से झरनामा आएको बाढीले बगाएको सडक मर्मत भएर शनिबार साँझदेखि सञ्चालनमा आए पनि काभ्रे र घोप्टे ओडार आसपासका क्षेत्रमा खसेको पहिरो पन्छाइनसकिएकाले सिधा सवारी सञ्चालन हुन नसकेको बेनी–जोमसोम कोरला सडक आयोजनाले जनाएको छ ।

    निरन्तरको वर्षासँगै मध्यरातमा आएको बाढीले दोस्रोपटक रुप्सेमा कटान गरेपछि दुवैतर्फबाट आयोजनाले मेसिनको प्रयोग गरी पहिरो हटाएको आयोजना प्रमुख अशोक तिवारीले जानकारी दिए । रुप्सेमा आएको बाढीले करिब २०० मिटर सडकमा क्षति पुर्याएपछि सवारीसाधन अलपत्र परेका थिए ।

    रुप्से झरनाको तल्लो क्षेत्रमा खोंच बनाएकाले थप कटान र क्षतिको जोखिम रहेको छ । अस्थायी काठको फड्के बगाएपछि रुप्से–काभ्रे जोड्न स्थानीयवासीले मर्मत गरेका थिए । गएको साउन ५ गते रुप्सेमा आएको बाढीले रेष्टुरेन्ट, बस, स्काभेटरका साथै निर्माणाधीन र पुरानो मोटरेबल पुल बगाएको थियो ।

    सडक अवरुद्ध हुँदा मुस्ताङमा उत्पादन भएको स्याउ निर्यातमा समस्या भएको छ । किसानले टिपेर तयारी अवस्थामा राखेको स्याउ लिन गएका ठूला मालबाहक ट्रकसमेत बाटोमै अलपत्र परेका छन् ।

    मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटरको बेनी–जोमसोम सडक गएको असार महिनायता सहज सञ्चालनमा आउन नसक्दा उत्तरी म्याग्दी र मुस्ताङबासी समस्यामा परेका छन् ।

    आइतवार, आश्विन ११ २०७७०७:४२:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार