शनिवार, कार्तिक २२ २०८३Nov 07 2026

  • TRENDING NOW :

मागभन्दा उत्पादन बढी

मागभन्दा उत्पादन बढी

मेगा खबर संवाददाता

९, आश्विन २०७७
  • 1.8K
    SHARES

  • मागभन्दा उत्पादन बढी

    फाईल तस्बिर

    दमौली । पशुपालन गर्ने कृषकको सङ्ख्या बढेसँगै तनहुँ जिल्ला दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्न सफल भएको हो ।तनहुँ जिल्लामा दूध, मासु र अण्डा मागभन्दा उत्पादन बढी भएको छ ।

    भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जिल्लामा दूध, अण्डा र मासुको मागभन्दा उत्पादन बढी भइरहेको जनाएको छ । केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले गत आर्थिक वर्ष २०७५/७६ को तुलनामा २०७६/७७ मा दूध, अण्डा र मासुको उत्पादन वृद्धि भएको जानकारी दिए । “जिल्लामा जति माग छ, त्योभन्दा बढी उत्पादन भइरहेको तथ्याङ्कले देखाएको छ, यसले तनहुँ दूध, अण्डा र मासुमा आत्मनिर्भर भएको छ”, डा. श्रेष्ठले भने ।

    डा. श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ५० हजार ६८१ मेट्रिक टन दूध, एक करोड ६२ लाख ९४ हजार गोटा अण्डा र चार हजार ६८८ मेट्रिक टन मासु उत्पादन भएको छ । आव २०७५/७६ मा ४९ हजार ५४३ मेट्रिक टन दूध, एक करोड ५२ लाख ५७ हजार गोटा अण्डा र चार हजार ५५८ मेट्रिक टन मासु उत्पादन भएको थियो ।

    जिल्लामा २९ हजार ४१९ मेट्रिक टन दूधको माग भए पनि मागभन्दा २१ हजार २६२ मेट्रिक टन बढी उत्पादन भइरहेको छ । चार हजार ५२६ मेट्रिक टन मासुको माग भए पनि १६२ मेट्रिक टन बढी उत्पादन भइरहेको छ भने एक करोड ५५ लाख १७ हजार गोटा अण्डाको माग भए पनि सात लाख ७६ हजार गोटा बढी उत्पादन भइरहेको छ ।

    जिल्लामा एक लाख ४० हजार ७४७ भैँसी, ९६ हजार ६०८ गाईपालन गरिएको छ । त्यस्तै ८९३ भेडा, पाँच लाख १२ हजार २४ बाख्रा, पाँच लाख ४८ हजार ५८२ कुखुरा, एक हजार ३८२ हाँस, ७९ हजार १८० बङ्गुरपालन गरिएको छ । जिल्लामा १९४ गाईफार्म, ६८ भैँसी, २९३ बाख्रा, ९८ बङ्गुर, २४२ कुखुरा र ४६ माछाफार्म दर्ता भएर सञ्चालित छन् ।

    युवालाई पशुपालनमा आकर्षित गराउन अनुदान वितरण गर्ने, तालिम प्रदान गर्ने, प्राविधिक सहयोग गर्नेलगायत काम विज्ञ केन्द्रले गर्दै आएको छ ।

    शुक्रवार, आश्विन ९ २०७७११:११:१४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार