दार्चुला। दार्चुलाको अपि हिमाल गाउँपालिकाले नेपालकै लामो खुट्किलासहितको पदमार्ग निर्माणको काम गरिरहेको छ । पर्यटकलाई लक्षित गर्दै आठ हजारभन्दा बढी खुट्किला निर्माण गर्ने गरी पदमार्ग निर्माण कार्य भइरहेको हो ।
अपि हिमाल गाउँपालिका–५ को मकरीगाडदेखि वडा नम्बर ४ को मकरीकोट हुँदै खात्तीसम्म पु¥याउने गरी खुट्किलासहितको पदमार्ग निर्माण कार्य जारी छ । चिटिक्क स्लेट विच्छाइएको पदमार्गमा दायाँ बायाँ रेलिङ राखिएको छ । त्यही रेलिङमा पेन्टिङ र स्लेटहरु मिलाएर बनाइएको सिँढी यतिबेला सबैको आकर्षण बनेको छ ।
दार्चुलाको अपि हिमाल गाउँपालिकामा नेपालकै लामो पदमार्ग सिद्ध मकरीकोट पदमार्गको निर्माण कार्य हाल जारी छ । मकरीगाडबाट मकरीकोट चढ्न झण्डै तीन घण्टा समय लाग्थ्यो । त्यो पनि भिरालो बाटोमा ढुङ्गा खस्ने डर पनि उत्तिकै हुन्थ्यो । मान्छे हिँड्ने उही बाटोमा घोडा खच्चड, भेडाबाख्रा, पशुचौपाया पनि हिँड्ने भएकाले पूरै हिलो र धुलाम्य हुन्थ्यो । तर अहिले सिँढी निर्माणपछि पशु चौपायाका लागि अलग्गै र पदमार्गमा मान्छेलाई मात्र हिँड्न दिएपछि सफा सुग्घर अनि मनै लोभ्याउने भएको छ ।
सङ्घीय सरकार, सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय सरकारको समपूरक अनुदानमा पदमार्ग निर्माण भइरहेको छ । पदयात्रा गर्न रुचाउने पर्यटकलाई लक्षित गर्दै सिद्ध मकरीकोट पदमार्ग निर्माण विगत दुई वर्षदेखि जारी छ ।
कूल आठ हजार २८२ खुडकिलासहितको पदमार्ग निर्माणको काम ठेक्कामार्फत गरिँदै छ । हालसम्म एक हजार ४७४ मिटरमा तीन हजार ७०० खुट्किला निर्माण भइसकेको अपि हिमाल गाउँपालिकाका इञ्जिनियर रामचन्द्रसिंह ठगुन्नाले जानकारी दिए । यो सिँढी ३ किलोमिटर क्षेत्रसम्म निर्माण हुनेछ । अहिले ३०० मिटरमा थप सिँढी निर्माणाधीन छ ।
चालू आर्थिक वर्षमा रु ४८ लाख लागतमा नयाँ ठेक्का सम्झौताको तयारी भएको बताइएको छ । हालसम्म सिँढी निर्माणमा रु तीन करोड ३० लाख खर्च भइसकेको इञ्जिनियर ठगुन्नाले बताए ।
मकरीगाडबाट मकरीकोट चढ्ने सजिलो पदमार्गको रुपमा सिद्ध मकरीकोट पदमार्ग निर्माण गरिएको हो । ‘‘यो पदमार्ग ऐतिहासिक जतरसिंह राजाको इतिहाससँग जोडिएको र नेपालकै ऐतिहासिक पदमार्ग हो’’ अपि हिमाल गाउँपालिकाका अध्यक्ष धर्मानन्द मन्याल (डीएन) ले भने, ‘‘सिद्ध मकरीकोट पदमार्गलाई थप आकर्षक बनाइने छ ।’’
अपि हिमाल गाउँपालिका–५ मकरीगाडमा १० मेगावाट क्षमताको मकरीगाड जलविद्युत आयोजना निर्माणस्थलकोे अवलोकनपछि सिद्ध मकरीकोट पदमार्ग चढ्न सकिन्छ । सिद्ध मकरीकोट पदमार्गका बीचबीचमा खानेपानी धारा, शौचालय, विश्रामस्थल बनाउने योजना रहेको अध्यक्ष मन्यालले बताए । जतरसिंह राजाले विश्राम गर्ने ठाउँमा विश्रामस्थल बनाइने र घोडा रोकिएको ठाउँमा घोडाको मूर्ति बनाइने उनले जानकारी दिए।
यो वर्षबाटै पदमार्गको दायाँबायाँ वृक्षरोपण गरिँदै छ । अपि हिमाल गाउँपालिकाका स्थानीयलाई आफन्तको मृत्यु, जन्म हुँदा स्मरणस्वरुप सिँढीको दायाँबायाँ रुख रोप्न लगाइने योजना पनि रहेको छ ।
“पदमार्ग निर्माणअघि मकरीगाडदेखि मकरीकोट चढ्न निकै कष्टकर बाटो थियो” स्थानीय ६८ वर्षीय गम्भीरसिंह धामीले भने , “पुरानो बाटो हुँदा सात ठाउँमा बसेर मकरीकोट चढ्न सकिन्थ्यो, अहिले दुई ठाउँमा आराम गर्ने बित्तिकै सहजै मकरीकोटमा पुगिन्छ ।” वृद्धवृद्धाका लागि पनि हिँड्न सहज भएको उनले बताए ।
अहिले खुट्किला र रेलिङसहितको पदमार्ग निर्माणपछि पर्यटकलाई मात्र हैन, स्थानीयलाई समेत आवतजावतमा सहज भएको अपि हिमाल गाउँपालिका–४ का स्थानीय लक्ष्मणसिंह बोहराले बताए।
पुरानो बाटो निकै जोखिम थियो । पहिरो र ढुङ्गा खस्ने डर हुन्थ्यो भने अहिले निर्माण गरिएको पदमार्गले यात्रुलाई सुरक्षित अनुभूति गराएको छ । हिँड्नलाई सजिलो हुने र समय पनि कम लाग्ने भएकाले यो पदमार्ग आकर्षक बनेको छ ।
अपि हिमाल गाउँपालिकासम्म जानेहरु सिद्ध मकरीकोट पदमार्गमा फोटो खिचाएर मात्रै आउने गर्छन् । दार्चुलाबाट अपि हिमाल पुगेका निरज धामी सिद्ध मकरीकोटका सिँढी चढ्नुको मज्जा बेग्लै रहेको बताउछन् ।
एकतर्फबाट चमेलिया नदी र अर्कोतिर मकरीगाड खोलाको हावाका साथमा यी सिँढी उक्लिन खुब आनन्द आउँछ । दायाँबायाँ खोलाका झर्ना, तल पारि बगर खण्डेश्वरी सडक र निर्माणाधीन मकरीगाड जलविद्युत् आयोजनाको अवलोकन यो सिँढीबाट गर्न सकिन्छ । यसरी सिद्ध मकरीकोट पदमार्ग पर्यटकका लागि मुख्य आकर्षण बनेको छ ।
यो ऐतिहासिक स्थानमा जतरसिंहको पुरानो राजदरबार थियो । अहिले सो दरबार भग्नावेशष बनेको छ । त्यस पुरानो दरबारको उत्खनन् पनि हुन सकेको छैन ।
गाउँपालिकाले पदमार्ग निर्माणसँगै मकरीकोटमा प्रवेशद्वार निर्माण गरेको छ । प्रवेशद्धारमै मन्दिर र विश्रामस्थलहरु पनि छन् । सिद्ध मकरीकोट चढ्ने बित्तिकै मकरीकोटबाट अपि हिमाल, साइपाल, जेठी बहुरानी जस्ता हिमशंङ्खलाको दर्शन गर्न सकिन्छ भने अपि हिमाल गाउँपालिकाको अधिकांश बस्ती सहजै देखिन्छ ।
निर्माणाधीन पदमार्गलाई खात्तीमा प्राकृतिक रुपमा निर्माण भएका तालतलैयाको दर्शन गर्ने गरी सिँढी खात्तीसम्मै पु¥याउने योजना रहेको अध्यक्ष मन्याल सुनाउनुहुन्छ । यस्तै नेपालकै उच्च क्षेत्र समुद्री सतहबाट दुई हजार ५०० मिटर उचाइमा खात्ती खेलमैदान छ । जहाँ हरेक वर्ष खेल हुने गरेका छन् । चारैतिर डाँडाकाँडा, र प्राकृतिक दृश्यहरुका काखमा रहेको यो खेलमैदान पनि उत्कृष्ट देखिन्छ ।
अध्यक्ष मन्याल भन्छन् “उक्त सिँढी निर्माणको काम आफू जनप्रतिनिधि भएदेखिको सपना हो भन्छन् । जतरसिंह राजाको इतिहाससँग जोडिएको यो ठाउँमा पर्यटकलाई आकर्षित गर्न पदमार्ग अनिवार्य रहेको उनी बताउछन् । । यो सिँढी निर्माण गरेर यस क्षेत्रलाई थप आकर्षक बनाउने योजना रहेको उनले सुनाए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।