फाईल तस्बिर
चितवन । निरन्तर वर्षापछि आएको बाढीसँगै नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गम थलोतर्फ निरन्तर पानी परिरहेकाले सतह बढ्ने अनुमान गरिएको छ ।
देवघाटमा रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख जलविज्ञ ई रामविकेश रायका अनुसार आज बिहान १० बजेर ३० मिनेट जाँदा नारायणीको सतह ८ दशमलव ०८ मिटर पुगेको थियो । आठ मिटरभन्दा माथिलाई खतरा मानिन्छ । यो घनमिटरमा १० हजार २२१ प्रतिसेकेण्ड रहेको थियो । यसअघि साउन ६ गते गत ४४ वर्ष यताकै सबैभन्दा बढी बहाव मापन भएको थियो । त्यस दिन बिहान ९ बजे नदीको बहाव ९ दशमलव ९१ मिटर पुगेको थियो ।
त्यतिबेला नदीमा पानीको बहाव १४ हजार ७७९ घनमिटर प्रतिसेकेण्ड रहेको थियो । यसअघि सन् १९७४ अगष्ट ५ मा १० दशमलव १ मिटर पानीको तह र १५ हजार ३०० घनमिटर प्रतिसेकेण्ड बहाव मापन गरिएको रायले जानकारी दिए ।
बीचको अवधिमा सन् २०१८ को बर्सातमा १४ हजार घनमिटर प्रतिसेकेण्ड बहाव र तह ९ दशमलव ६ मिटर रहेको उनले बताए । त्यतिबेला पानीको बहाव २७ वर्षयताको सबैभन्दा बढी थियो । रायका अनुसार नारायणी नदीको शिरतर्फ पर्ने कास्की, म्याग्दीलगायतका क्षेत्रमा आउँदो १२ घण्टा निरन्तर वर्षा हुने भएकाले नदीको बहाव अरू बढ्न सक्नेछ ।
नारायणी नदी बढेसँगै यसको प्रभाव भरतपुर महानगर र नवलपुर क्षेत्रमा पर्दछ । महानगर प्रमुख रेनु दाहालले नदी तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह गरिएको जानकारी दिइन् ।
नदीको बहाव बढ्न सक्ने भएकाले सबैलाई सतर्क रहन उनको अनुरोध छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।