फाईल तस्बिर
जुम्ला । विगत लामो समयदेखि सदरमुकाम खलङ्गा पूर्णरूपमा लोडसेडिङमा छ । भारतीय ठेकेदारले विद्युत्गृहमा जडान गरेको उपकरण वारेन्टी समयवधि नसकिँदै पटकपटक बिग्रिएपछि विगत दुईहप्तादेखि खलङ्गा पूर्णरूपमा अँध्यारो भएको हो ।
लकडाउन र बन्दाबन्दीले छ महिनादेखि आम्दानी गुमेको बेला बन्दाबन्दी खुल्दा बत्ती नभएर दोहोरो मारमा परेको उद्योगी व्यापारी आक्रोशित भएका छन् । करिब तीन हजार ३०० उपभोक्ता दैनिक टुकी र मैनबत्ती बालेर गुजारा चलाइरहेका छन् ।
मङ्गलबार जुम्लाका उद्योगी व्यापारीले विद्युत् आपूर्ति गर्न एक हप्ते ‘अल्टिमेट’ दिएका छन् । व्यपारीहरूले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुखलाई जुम्लामा सोमबार अपराह्न ध्यानाकर्षण पत्र बुझाएका हुन् । उद्योग वाणिज्य सङ्घ जुम्लाका अध्यक्ष रज्जबअलि मनिहार, नेपाल घरेलु तथा सना उद्योग महासङ्घ जुम्लाका अध्यक्ष रामकृष्ण चौलागाईँ, नागरिक समाजका अध्यक्ष राजबहादुर महतद्वारा हस्ताक्षरित ज्ञापनपत्र प्राधिकणमा बुझाइएको हो ।
ज्ञापनपत्रमा प्राधिकरण आउनुपहिले उपभोक्ता समितिले गरेको आर्थिक गतिविधिको सार्वजानिक सुनुवाइ हुनुपर्ने, एक हप्ताभित्र नियमित बत्ती आउनुपर्ने लगायतका विषय उल्लेख गरिएको छ ।
यता नेपाल विद्युत् प्राधिकरणले उपभोक्ता समितिले जडान गरेको उपकरणमा प्राय समस्या आइराख्ने गरेकाले उपभोक्ताको माग अनुसार विद्युत् आपूर्ति गर्न नसकिएको बताएको छ । उपकरणको पिएलसी सफ्टवेयरमा आएको समस्याका कारण खलङ्गामा भएको लोडसेडिङलाई कम गर्न प्राधिकरणको सिङ्गो टिम लागि परेको प्राधिकरणका जुम्ला प्रमुख गौरव पाण्डेले बताएका छन् ।
उनले भने, “आम सरोकारवालाको सहयोग पाएको खण्डमा आउने तीन÷चार महिनाभित्रै राष्ट्रिय प्रसारण लाइन जुम्लामा जोड्न सकिने अवस्था छ ।”
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।