बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेपालमा चिकित्सा सम्बन्धी जनशक्तिको अभाव बढ्दै

नेपालमा चिकित्सा सम्बन्धी जनशक्तिको अभाव बढ्दै

मेगा खबर संवाददाता

२१, भाद्र २०८०
  • 1000
    SHARES

  • नेपालमा चिकित्सा सम्बन्धी जनशक्तिको अभाव बढ्दै

    काठमाडौँ, भदौ २१ गते, नेपालमा चिकित्सा सम्बन्धी जनशक्तिको अभाव बढ्दै गएको छ । परिणामस्वरुप आगामी ७ वर्षमा ३ लाख १८ हजारभन्दा बढी स्वास्थ्यकर्मी आवश्यक पर्ने प्रक्षेपण गरिएको छ । चिकित्सा शिक्षा आयोगले गरेको प्रक्षेपणमा अबको ७ वर्षभित्र डाक्टर,नर्स र अन्य स्वास्थ्यकर्मी गरी ३ लाख १८ हजार ९५ जना जनशक्ति आवश्यक पर्ने जनाइएको छ ।

    आर्थिक वर्ष २०८२ र ८३ सम्ममा २ लाख ८८ हजार २४० जना स्वास्थ्यकर्मी आवश्यक पर्ने प्रक्षेपण गरिएको छ । आयोगका अनुसार २०७७ र ७८ मा मेडिकल अफिसर एमबीबीएस,विशेषज्ञ चिकित्सक कन्ल्टयान्ट (स्नातकोत्तर),नर्सिङ पेसाविद्हरू (स्नातकोत्तर) देखि कार्यालय सहयोगी लगायतका कर्मचारी गरी २ लाख ७५ हजार २०३ जना स्वास्थ्य कर्मचारी आवश्यक भएकोमा २ लाख ११ हजार ९७७ जनामात्रै कार्यरत थिए ।

    स्वास्थ्य जनशक्तिको आकलन तथा प्रक्षेपण ९२०२१–२०३००

    चिकित्सा शिक्षा आयोगबाट गरिएको प्रक्षेपणमा २०८२ र ८३ मा मेडिकल अफिसर (एमबीबीएस) १६ हजार २५ जना आवश्यक पर्र्ने उल्लेख छ । २०८७र८८ मा १६ हजार ७८४ जना मेडिकल अफिसर आवश्यक पर्ने जनाइएको छ । विशेषज्ञ चिकित्सक कन्सल्ट्यान्ट २०८२ र ८३ सम्ममा १४ हजार ७३७ र २०८७ र ८८ सम्ममा १५ हजार ४३५ आवश्यक पर्ने प्रक्षेपण गरिएको छ ।नर्सिङ पेसाविद्हरू (स्नातकोत्तर) २०८२ र ८३ सम्ममा ३९३ र २०८७ र ८८ मा ४११ जना आवश्यक पर्ने प्रक्षेपण गरिएको छ ।

    २०८२ र ८३ सम्ममा नर्सिङ सहायक पेसाविद्हरू (स्नातक) का कर्मचारी २ हजार २२५ आवश्यक पर्ने जनाइएको छ । २०८७ र ८८ मा यो तहको जनशक्ति २ हजार ३५९ आवश्यक पर्ने प्रक्षेपण गरिएको छ । नर्सिङ तथा प्रसूति सम्बन्धी सहायक पेसाविद्हरू (प्रमाणपत्र तह) २०८२ र ८३ मा ८४ हजार ४२ जना आवश्यक पर्नेछ भने २०८७ र ८८ मा ८८ हजार २४ आवश्यक हुने प्रक्षेपण आयोगले गरेको छ ।

    परम्परागत तथा वैकल्पिक चिकित्सा प्रदान गर्ने पेसाविद्हरू २०८२ र ८३ सम्ममा ८४ हजार ४३  जना आवश्यक पर्नेछ भने २०८७ र ८८ मा यो संख्या बढेर ८८ हजार २४ पुग्ने उल्लेख गरिएको छ । परम्परागत तथा सहायक चिकित्सा प्राविधिकहरू (प्रमाणपत्र तह) मा २०८२ र ८३ सम्ममा १९ सय ८९ जना चाहिने प्रक्षेपण गरिएको छ । २०८७ र ८८ सम्ममा २ हजार ८३ जना यो तहका जनशक्ति आवश्यक पर्ने जनाइएको छ ।

    २०७७र२०७८ मा जनशक्ति

    आयोगले गरेको प्रक्षेपणमा स्वास्थ्य जनशक्तिको पेसागत वर्गीकरण गर्दा २०७७ र २०७८ सम्म मेडिकल अफिसर (एमबीबीएस)  १७ हजार ७०८ उत्पादन भएका थिए । यी जनशक्तिमध्ये १२ हजार ३९६ मात्रै कार्यरत थिए । आवश्यक र कार्यरत जनशक्तिबिचको अन्तर भने २ हजार ९०४ थियो । त्यस वर्ष १५ हजार ३०० मेडिकल अफिसर (एमबीबीएस) को आवश्यकता थियो । सो वर्ष उक्त तहका १७ हजार ७०८ जना जनशक्ति उत्पादन भएका थिए । विशेषज्ञ चिकित्सक कन्सल्ट्यान्ट (स्नातकोत्तर) १४ हजार ७० जना आवश्यक हुँदा जम्मा ८ हजार २९१ जनामात्रै कार्यरत थिए । त्यस वर्ष ८ हजार ७६२ विशेषज्ञ चिकित्सक कन्सल्टयान्ट मात्रै उत्पादन भएको तथ्याङ्कले देखाउँछ ।

    नर्सिङ पेसाविद्हरू (स्नातकोत्तर) ३०५ जना आवश्यक भए पनि जम्मा १३३ जना कार्यरत थिए । सो वर्ष उक्त तहमा १४० जनशक्ति उत्पादन भएको थियो । नर्सिङ सहायक पेसाविद्हरु (स्नातक) २ हजार १५० जना आवश्यक भए पनि जम्मा एक हजार ४५२ जनाले मात्रै सेवा दिएका थिए । सो तहमा उक्त वर्ष एक हजार ५२८ जनशक्ति उत्पादन भएको थियो । नर्सिङ तथा प्रसूति सम्बन्धी सहायक पेसाविद्हरू (प्रमाणपत्र तह) का ८० हजार २४२ जनशक्ति आवश्यक परे पनि त्यस समयमा ७७ हजार ३१६ जनाले मात्र सेवा दिएका थिए । जनशक्ति उत्पादन भने १ लाख १० हजार १५५ थियो ।

    परम्परागत तथा वैकल्पिक चिकित्सा प्रविधिकहरू (प्रमाणपत्र तह) का जनशक्ति २३७ जना उत्पादन भएकोमा २२५ जना कार्यरत थिए । त्यतिबेला आवश्यकता भने एक हजार ८९९ जनाको थियो । २०७७ र २०७८ मा परम्परागत तथा सहायक चिकित्सा प्राविधिकहरू (प्रमाणपत्र तह) एक हजार ९३१ जनशक्ति आवश्यक रहे पनि जम्मा एक हजार ३८९ जनाले मात्रै सेवा दिएका थिए । त्यस समयमा एक हजार ४६२ जनशक्ति उत्पादित थिए ।

    स्वास्थ्य जनशक्तिको आवश्यकता

    हाल देशभर सञ्चालित सरकारी,गैरसरकारी र निजी क्षेत्रका स्वास्थ्य संस्थाहरूमा केन्द्रीय अस्पताल,प्रादेशिक अस्पताल,विशिष्ट सेवा प्रदान गर्ने अस्पताल, शिक्षण अस्पताल,अञ्चल अस्पताल,जिल्ला अस्पताल,नगर अस्पताल,नगर स्वास्थ्य केन्द्र,परम्परागत तथा वैकल्पिक स्वास्थ्य सेवा प्रदान गर्ने अस्पताल,स्थानीय तहका ५, १० र १५ शय्याका प्राथमिक अस्पताल,द्वितीय अस्पताल, नर्सिङ होम,स्वास्थ्य चौकी,प्राथमिक स्वास्थ्य केन्द्र, सामुदायिक स्वास्थ्य इकाइ,क्लिनिक,स्वास्थ्य संस्था तथा औषधालयहरूमा आवश्यक आकलन गरी जनशक्तिको प्रक्षेपण गरिएको छ । २०७७र७८ मा कुल दुई लाख ७५ हजार २०३ स्वास्थ्यकर्मीको आवश्यकता थियो ।

    आधार वर्ष २०७७ र ७८ मा चिकित्सक प्रति हजार जनसङ्ख्याको अनुपात ०.७१ रहेकोमा २०८७ र ८८ मा सो अनुपात बढेर १.०० पुग्ने प्रक्षेपित अनुमान छ । प्रति १० हजार जनसङ्ख्यामा कुल स्वास्थ्य जनशक्ति अनुपात वर्ष २०७७ र ७८ मा ४१.०४ अनुमान गरिएकोमा वर्ष २०८७ र ८८ मा सो अनुपात बढेर ४७.३५ हुने प्रक्षेपित अनुमान गरिएको छ ।

    जनशक्तिको संरचना

    प्रक्षेपणको आधार वर्ष २०७७ र ७८ मा कार्यरत स्वास्थ्य जनशक्ति र स्वास्थ्य सेवाको आवश्यकताको आधारमा गरिएको प्रक्षेपित जनशक्तिको संरचनाको बिच तुलना गर्दा केही संरचनागत परिवर्तन आउने देखिन्छ । उच्च तहको स्वास्थ्य जनशक्ति खास गरी विशेषज्ञ चिकित्सक र जनरल मेडिकल प्राक्टिसनर (स्नातक) को हिस्सा क्रमशः ५.८५ प्रतिशत र ३.९१ प्रतिशतबाट बढेर ५.११ प्रतिशत पुग्ने अवस्था छ । अन्य स्वास्थ्य सम्बद्ध सहायक पेसाविद्हरू प्रमाणपत्र र तालिम पनि २७.६० प्रतिशतबाट बढेर ३४.४५ प्रतिशत पुग्ने र नर्सिङ तथा प्रसूति सम्बन्धी सहायक पेसाविद्हरू (प्रमाण पत्र र तालिम) भने ३६.४७ प्रतिशतबाट परिवर्तन भएर २९.१६ प्रतिशत पुग्ने अवस्था छ ।

    बिहिवार, भाद्र २१ २०८०१२:०६:५६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार