फाईल तस्बिर
रसुवा । पासाङल्हामु राजमार्गअन्तर्गत रसुवाखण्डमा बस सेवा पुनः सञ्चालन भएको छ । जिल्ला ट्राफिक कार्यालय रसुवाका अनुसार एक यात्रुवाहक बस र दुई सुमो जीप दैनिक ओहोरदोहर हुन थालेको छ ।
गाडीको क्षमता क्रमशः ३० र १० जनाको भए पनि यात्रुको सङ्ख्या भने बढीमा दश र चार मात्र देखिएको ट्राफिक प्रहरी इञ्चार्ज इन्द्रबहादुर घिसिङले जानकारी दिए । अबका दिनमा बढ्न सक्ने सवारी साधन चापलाई ध्यानमा राखी ट्राफिक व्यवस्थापन मजबुत पारिसकिएको बताइएको छ ।
लामो दूरीको यातायात सञ्चालन गर्ने सरकारको निर्णय क्रमिक रूपमा कार्यान्वयन हुन थालेपछि अन्यत्र स्थानमा रोकिएका ग्रामीणवासी आफ्नो थातथलोतर्फ फर्किन थालिसकेको स्थानीयवासी टङ्कप्रसाद ढकालले जानकारी दिए ।
कोभिड–१९ रोकथामका लागि यात्रुले स्वास्थ्यको मापदण्ड पूरा गरेको देखिएको बताइएको छ । कोरोना नियन्त्रणका लागि लामो समयदेखि बन्द सार्वजनिक यातायात सेवाको सुरक्षा र यात्रामा यात्रुले गर्न सक्ने गैरकानूनी क्रियाकलाप रोक्न आवश्यक सुरक्षा जनशक्ति परिचालन भइसकेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए ।
पासाङल्हामु राजमार्गका अधिकांश स्थान लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने भएकाले सवारी साधनमा यात्रा गर्ने यात्रु वा अन्य मालवाहक सवारी चालकलाई सबै सामग्री सुरक्षा जाँचचौकीमा परीक्षण गराउनसमेत आग्रह गरिएको निकुञ्जले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।