काठमाडौँ, असार ३१ गते, काठमाडौँस्थित भारतीय राजदूतावासले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ ।
आज यहाँ आयोजित एक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले एम्बुलेन्स र स्कुल बसको चाबी हस्तान्तरण गरेका सो दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहयोग पुर्याउँदै आएको भारत सरकारले सन् १९९४ देखि भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसका अवसरमा नेपालका विभिन्न क्षेत्रका लाभग्राही संस्थालाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको छ ।
त्यस अवसरमा मन्त्री राईले भारत सरकारको सहयोगमा नेपालमा जारी विकास परियोजनाको सराहना गरे । उनले ती परियोजनाले दुई देशबीचको जनताजनताबीचको सम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउँदै लैजाने बताए । राजदूत श्रीवास्तवले उक्त एम्बुलेन्स तथा स्कुुल बस नेपालको स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा गरिएको सहयोग हो भन्दै यो कार्यक्रम भारत र नेपालबीचको विकास साझेदारीकै एक अंशका रुपमा रहेको जानकारी दिए ।
यस कार्यक्रम अन्तर्गत सन् १९९४ यता भारतले नेपालका विभिन्न जिल्लामा रहेका विभिन्न सङ्घसंस्थालाई नौ सय ७४ वटा एम्बुलेन्स र दुई सय ३४ स्कुल बस उपहारस्वरुप उपलब्ध गराइसकेको सो विज्ञप्तिमा उल्लेख गरेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।